तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्टको उपाधि युनाइटेड दार्जिलिङ एफसीको झोलीमा
तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्टको उपाधि युनाइटेड दार्जिलिङ एफसीको झोलीमा


खरसाङ, 10 जनवरी (हि.स.)। युनाइटेड दार्जिलिङ एफसी तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्टको च्याम्पियन बनेको छ। युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएशनको तत्वावधानमा तीनधारेको मिठाईडाँडा खेल मैदानमा सम्पन्न भएको तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्ट अन्तर्गत आज दार्जिलिङ युनाइटेड एफसी र जर्जियन एफसी कालेबुङमाझ फाइनल खेल सम्पन्न भयो।

खेल शुरु भएको केवल 3 मिनटमा युनाइटेड दार्जिलिङ एफसीको जर्सी नम्बर 8 राज थापाले गोल गरेर एक गोलको बढत बनाएका थिए। पहिलो हाफको खेलमा‌ युनाइटेड दार्जिलिङले‌ प्रतिद्वन्दी दल विरुद्ध 4 गोल लगाएको थियो। उक्त गोल क्रमश: छैंटौं मिनटमा कप्तान एवं जर्सी नम्बर 10 गणेश लिम्बू, जर्सी नम्बर 9 प्रणय राईले नवौं र सोह्रौं मिनटमा दुई गोल गरेका थिए।

दोस्रो हाफको अन्तिम समयमा जर्जियन एफसी कालेबुङ एक गोल गर्न सफल बन्यो। युनाइटेड दार्जिलिङ एफसीले 4-1 को अन्तरले खेल आफ्नो नाम गरेर उपाधि जित्न सफल बनेको छ।

फाइनल खेलमा‌ मुख्य अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए। त्यसरी नै विशिष्ट अतिथिहरुमा खरसाङ खण्ड पञ्चायत समितिको सहकारी सभापति नारायण थापा, सभासद नवराज छेत्री, डा. ईआर लामा, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान, घैयाबारी तीन ग्राम पञ्चायतको पञ्चायत प्रधान सुष्मा वाईबा, शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधान, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा आदि उपस्थित रहेका थिए।

अतिथिहरूको बाहुलीद्वारा विजेता दललाई ट्रफीको साथमा नगद राशि दुई लाख रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरियो। टुर्नामेन्टको निम्ति विजेता ट्रफीको प्रायोजक राजीव थापा र उप विजेता ट्रफीको प्रायोजक सुरेन राई थिए।

फाइनल खेलमा‌ म्यान अफ् द म्याच दुई गोल गर्ने विजेता दलका खेलाडी प्रणय राई चयन भएका छन्। यसैगरी, म्यान अफ् द टुर्नामेन्ट ब्राइट स्पोर्टिङ्ग क्लब सिलगढीका क्रिस छेत्री चयन भएका छन्। सर्वोच्च गोलदाताको अवार्ड युनाइटेड दार्जिलिङ एफसीको कप्तान गणेश लिम्बूले जितेका छन्। उनले टुर्नामेन्टभरि जम्मा 4 गोल गरे। टुर्नामेन्टमा बेस्ट गोल किपर ब्राइट स्पोर्टिङ्ग क्लब सिलगढीका जय दत्त चयन भएका छन्‌। फेयर प्ले अवार्ड पनि ब्राइट स्पोर्टिङ्ग क्लब सिलगढीले‌ नै जितेको छ।

उल्लेखनीय छ, उक्त फुटबल प्रतियोगिता गत वर्ष 15 दिसम्बरदेखि युनाइटेड स्पोर्ट्स एसोसिएशनको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा शुरू भएको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande