
सिलगढी, 26 जुलाई (हि.स.)। भारतीय नेपाली साहित्यका मूर्धन्य साहित्यकार डा जस योञ्जन 'प्यासी' का साहित्यिक कर्ममा आधारित मूल्याङ्कन कृति 'एउटा खुल्ला किताब': कृति कीर्तिवृत्तमा जस योञ्जन 'प्यासी' पुस्तकको लोकार्पण आइतवार सिलगढीमा सम्पन्न भएको छ। सम्बोधन पब्लिकेसन सालुगढा सिलगढीको प्रकाशनमा रहेको उक्त पुस्तक सिलगढीको देवकोटा संघमा लोकार्पण गरिएको हो।
उक्त पुस्तक लोकार्पण कार्यक्रमको अध्यक्षता साहित्य अकादमी पुरस्कार प्रापक वरिष्ठ स्रष्टा विन्ध्या सुब्बाले गरेकी थिइन्।
कार्यक्रममा सभाध्यक्षा वरिष्ठ साहित्यकार बिन्ध्या सुब्बा, विशिष्ट अतिथिहरु क्रमैले नेपालबाट आएका चन्द्र भण्डारी, असमबाट आएका समाजसेवी कृष्ण भुजेल, वरिष्ठ साहित्यकारहरु डा कृष्णराज घतानी, ज्ञानेन्द्र खतिवडा, जय क्याक्टस, स्रष्टा डा जस योञ्जन 'प्यासी', प्रकाशक सुरज गुरुङ, पुस्तकका सम्पादक लक्ष्मण दाहाल आदिको बाहुलीबाट पुस्तकको लोकार्पण गरियो।
कार्यक्रममा डा जस योञ्जन 'प्यासी'ले आफ्नो सम्बोधन राख्दै भने, आज म अत्यन्तै खुशी छु। म एउटा खुल्ला किताब हुँ, मलाई जसरी पढ्दा हुन्छ। शुरुदेखि पढ्दा पनि हुन्छ। बीचदेखि पढ्दा पनि हुन्छ। लास्टदेखि पढ्दा पनि हुन्छ। मन परेन भने च्यातेर फ्याँक्दा पनि हुन्छ। मेरो जीवन नै तेस्तो छ।
डा जस योञ्जन 'प्यासी' ले अघि भने, मेरो उद्देश्य एउटा मानिसलाई कसरी माथि उठाउनु पर्ने हो त्यो छ। म अहिले आध्यात्मिक बनेको छु र मेरो मनमा मलाई बुद्धले सिकाउँछ र अरुलाई माथि उठाउन मनपर्छ।'
कार्यक्रमकी सभाध्यक्ष वरिष्ठ साहित्यकार बिन्ध्या सुब्बाले आफ्नो सम्बोधनमा भनिन्,'डस जस योञ्जन 'प्यासी' गीतकार, कवि, कथाकार, नाटककार, समालोचक, बहुप्रतिभाको धनी हुन्। उनको कविता उच्च स्तरीय छ। उनले कविता सङ्ग्रह 'शान्ति सन्देह' मा नै 2004 मा साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए।'
उनले अघि भनिन्, 'डा जस योञ्जन 'प्यासी'को ऊँचाई हामीलाई थाहा छ। हाम्रो ह्रदयमा छ। कार्यक्रमले हामीलाई तरल बनाई दियो। खुशी बनाई दियो। डा जस योञ्जन 'प्यासी' एकातिर प्रखर समालोचक र अर्कोतिर नरम र तरल गीतकार पनि हुन्। आजको कार्यक्रम साहित्य र संगीतको समागम बनेको छ। वातावरण नै तरल बनेको छ।'
हिन्दुस्थान समाचार / हनोक