
सोनादा, 26 जुलाई (हि.स.)। सोनादा कलाकार मञ्चको पहिलो स्थापना दिवस मञ्चका अध्यक्ष अमूल गुरूङको सभापतित्वमा सम्पन्न भयो। स्कट्स मिशन प्राथमिक पाठशाला भवनमा आयोजित उक्त कार्यक्रममा मुख्य अतिथिको रुपमा सुर तरङ संगीत महाविद्यालयका प्राचार्य देवकुमार प्रधान तथा विशिष्ट अतिथिहरूमा सोनादा आउटपोस्टका प्रभारी विवेक छेत्री, ट्राफिक प्रभारी सबिन दर्नाल, लोवर सोनादा ग्राम पञ्चायत उप प्रधान थिलेन लामा, सद्भावना वरिष्ठ नागरिक मञ्चका जेके राई लगायत अन्यहरु उपस्थित रहेका थिए।
कार्यक्रममा सांस्कृतिक अनि साङ्गीतिक प्रस्तुतिका साथ गायक कर्म शेर्पा, शिक्षक डा इगम खालिङ, फुट्बल खेलाडी रोशन सुब्बा लगायत माध्यमिक अनि उच्चतर माध्यमिक परिक्षामा उत्कृष्ट अंकमा उत्तीर्ण छात्रा सेन्जा प्रधान अनि श्रद्धा गुरुङ्ग, कराते खेलाडी सिमरन छेत्रीलाई अभिनन्दन गरियो। साथै, सोनादा आउटपोस्टका प्रभारी विवेक छेत्री, ट्राफिक प्रभारी सबिन दर्नाल, कन्टेन्ट क्रिएटर पवन सुब्बा,सागर तामङलाई स्मृति चिन्हद्वारा सम्मान जनाइयो।
कार्यक्रममा सोनादाका विभिन्न क्षेत्रबाट दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / हनोक