दार्जिलिङको चौरस्ताबाट युवा विद्यार्थीहरूको लङभ्यू मार्च शुरू, खरसाङ पुगे, भोलि लङ्भ्यू प्रस्थान गर्ने
Football march by students


दार्जिलिङ, 26 जुलाई (हि.स.)। आइतवार बिहान दार्जिलिङको चौरस्ताबाट युवा विद्यार्थीहरूले लङभ्यू मार्च शुरू गरेका छन्। लङभ्यू चिया बगानका श्रमिकहरू पीएफ, ग्रेच्युटी, बकाया ज्याला तथा अन्य वैधानिक सुविधाको माग गर्दै लामो समयदेखि अनशनमा छन्।

अनशनले १०० दिन पुग्न लाग्दा पनि आजसम्म श्रमिकहरूको जायज मागप्रति सम्बन्धित निकायबाट कुनै प्रभावकारी र सकारात्मक पहल भएको छैन। यस अवस्थालाई ध्यानमा राख्दै श्रमिकहरूको न्यायपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता जनाउन युवा विद्यार्थीहरूले आजदेखि लङभ्यू मार्च शुरू गरेका हुन्।

उनीहरूको यो पैदल यात्रा भोलि, २७ जुलाई लङभ्यूस्थित अनशन स्थलमा पुगेर समापन हुनेछ। यस पैदल यात्राका क्रममा युवा विद्यार्थीहरूले चिया श्रमिकहरूको न्यूनतम ज्याला, पर्चा–पट्टा, पीएफ, ग्रेच्युटी तथा लङभ्यू चिया बगानसँग सम्बन्धित अन्य न्यायोचित मागहरूलाई जनसमक्ष सशक्त रूपमा उठाइरहेका छन्।

लङभ्यू मार्चमा सहभागी युवा विद्यार्थीहरू आइतवार साँझ खरसाङ बजार आइपुगे। उनीहरू भोलि बिहान ११ बजी लङभ्यू चिया बगानका श्रमिकहरूको अनशन स्थलमा पुग्नेछन्। दार्जीलिङका जिल्लापालको निर्देशनअनुसार भोलि लङभ्यूमा आन्दोलनरत श्रमिकहरू र प्रशासनिक पक्षबीच एक महत्वपूर्ण बैठक पनि आयोजना हुने तय भएको छ।

प्राप्त जानकारीअनुसार, उक्त बैठक लङभ्यूको सार्वजनिक भवनमा दिउँसो १ बजीदेखि शुरू हुनेछ। यसैबीच, आन्दोलनरत श्रमिकहरूले अनशन स्थलमै शहीद दिवस मनाउने कार्यक्रम पनि तय गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande