गान्तोक, 02 जनवरी (हि.स.)। नयाँ वर्ष 2025 को शुभारम्भसॅंगै जङ्गू साङ्कालाङवासीले 24 टन लोड क्षमता र 180 फिट स्प्यानको नयाँ बेली ब्रीज उपहारस्वरूप पाएका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा अनि समष्टि विधायक एवम् वन मन्त्री पिञ्छो नामग्याल लेप्चाको मार्गदर्शनमा जिल्ला उपाध्यक्ष सोनाम किपा भोटियाले पुलको उद्घाटन गरेर जनताका पक्षमा हस्तान्तरण गरिन्।
कार्यक्रममा 72 इन्जिनियर रेजिमेन्टका अफिसर कर्नल आलोक शंकर र अफिसर कमाण्डिङ 107 आरसीसी मेजर रामलखन तेवतिया, जङ्गूका जिल्ला पञ्चायत तथा पञ्चायत सदस्यहरू अनि ग्रेफ, बीआरओ र स्थानीय जनता उपस्थित थिए। पुलको निर्माण कार्य 26 दिसम्बर, 2024 मा प्रारम्भ भएको थियो भने 1 जनवरी, 2025 सम्ममा तयार गरी सञ्चालनमा ल्याइएको छ।
यो पुल बर्खासम्म सञ्चालन हुनेछ भने पानीको स्तर बढ्दै जाँदा यसको विघटन आवश्यक हुने पनि जनाइएको छ। यो पुलले यस क्षेत्रमा सकारात्मक प्रभाव पार्ने, सामान ढुवानीमा सहजता र बजार तथा अत्यावश्यक सेवाहरूमा पहुँच बढाउने अपेक्षा गरिएको छ।
स्थानीय बासिन्दाहरूले उनीहरूका महत्त्वपूर्ण आवश्यकतालाई सम्बोधन गरिएकोमा प्रेमसिंह तामाङ र क्षेत्र विधायक पिञ्छो नामग्याल लेप्चा र पुल निर्माणमा संलग्न सबैलाई धन्यवाद दिएका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल