अग्नि पीडित परिवारलाई राहत सामग्रीहरु वितरण 
अग्नि पीडित परिवारलाई राहत सामग्रीहरु वितरण


सोनादा, 07 जनवरी (हि.स.)। रङ्गबुल धोतरिया रङमुक समष्टिका सभासद एवं डेपुटी चेयरम्यान राजेश चौहानले मिलिङ चियाबारीमा अग्नि पीडित परिवारलाई राहत सामग्री प्रदान गरेका छन्। गत आइतवार राति तल्लो कलेज भेल्ली मिलिङ चियाबारीमा मगन गुरुङको घर जलेर खरानी भएको थियो। उनले आफू बाहिर रहेकाले आउन नसकेको, तर स्थानीय पञ्चायत समिति सदस्य, ग्राम पञ्चायतका सदस्यहरुलाई घटनास्थलमा सहयोगको निम्ति पठाएको बताए।

चौहानले जीटीएबाट पनि सम्पूर्ण औपचारिकता पूरा भएपछि पीडित परिवारलाई सहयोग राशि प्रदान गरिने बताए। धोत्रे ग्राम पञ्चायतको पञ्चायत सदस्य सजन तामाङले गत आइतवार आगलागीको घटना चाल पाउनसाथ तत्कालै सबैलाई जानकारी गराएको र भोलिपल्ट नै ग्राम पञ्चायत प्रधान र पञ्चायत सचिव आएर राहत सामग्रीहरु प्रदान गरेको जानकारी गराए।

उनले आज क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले अग्नि पीडित परिवारलाई भेट्न आएको र पीडित परिवारलाई ओढ्ने, ओछ्याउने र खाद्य सामग्रीहरु प्रदान गरेको बताए। साथै जीटीएबाट पनि अग्नि पीडित परिवारलाई सहयोग गर्ने वचन दिएको उनले बताएका छन्‌।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande