तादोङ कलेजमा पाँच दिने नेपाली लोक नृत्य र गीत कार्यशाला प्रारम्भ
तादोङ कलेजमा पाँच दिने नेपाली लोक नृत्य र गीत कार्यशाला प्रारम्भ


गान्तोक, 13 अक्टोबर (हि.स.)। नरबहादुर भण्डारी सरकारी महाविद्यालय, तादोङको नेपाली विभागद्वारा आयोजना गरिएको “पाँच दिने नेपाली लोक नृत्य र गीत सम्बन्धी कार्यशाला” को उद्घाटन समारोह सम्पन्न भयो।

यो कार्यशाला 13 देखि 17 अक्टोबर, 2025 सम्म सञ्चालन हुनेछ, जसको उद्देश्य नेपाली लोककला, गीत र नृत्यका समृद्ध परम्परागत स्वरूपहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै नयाँ पिँढीमा त्यसप्रतिको चासो र गर्व जागृत गराउनु हो।

उद्घाटन समारोहका मुख्य अतिथिका रूपमा एसआर सुब्बा, अध्यक्ष, सिक्किम अकादेमी उपस्थित थिए। विशिष्ट अतिथिहरूमा डा. डी. पुरोहित, प्राचार्य, नभम, तादोङ, पद्मश्री पुरस्कारलब्ध नरेन गुरुङ, तथा कलेजका उप–प्राचार्य डा. जीवन उपाध्याय पनि सहभागी थिए।

अन्य सम्मानित अतिथिहरूमा डा. गीता निरोला, डा. सत्यदीप छेत्री, अञ्जली प्रधान, दीपक दर्नाल, सुखवीर सुब्बा, ओम सेवा, डा. टासी भोटिया, डा. कृष्ण शर्मा, डा. चेतराज दाहाल, र डा. होमनाथ लुइँटेल रहेका थिए।

डा. उदय छेत्रीले स्वागत मन्तव्य प्रस्तुत गर्दै कार्यशालाको उद्देश्य र आवश्यकता प्रकाश पारे। उनले युवा पिँढीलाई लोककलासँग प्रत्यक्ष संलग्न गराउनु आजको समयको आवश्यकता भएको बताए।

डा. टीबी छेत्रीले बीजभाषण राख्ने क्रममा, “लोक गीत र नृत्य प्रत्येक व्यक्तिको श्वास र मुटुको धड्कन हो” भने।

उनले नेपाली लोककला भारतीय ज्ञान प्रणालीको मूल अङ्ग भएको र हिमाली सजातीय जनगणको सांस्कृतिक चिनारीको प्रतीक रहेको बताए। डा. छेत्रीले आधुनिक प्रविधिले सांस्कृतिक सम्पदाको संरक्षण, अन्वेषण र विकासका नयाँ अवसरहरू सिर्जना गरेको बताउँदै युवाहरूलाई यस दिशामा सक्रिय “सांस्कृतिक राजदूत” बन्न आह्वान गरे।

मुख्य प्रशिक्षक पद्मश्री नरेन गुरुङले कार्यशालाका सबै सहभागीहरूलाई सक्रिय, अनुशासित र उत्साही रहन आग्रह गरे, जसद्वारा कार्यशालाको लक्ष्य र उद्देश्य पूरा गर्न सकियोस्।

प्राचार्य डा. डी. पुरोहितले आधुनिकता र कृत्रिम बुद्धिमत्ताको युगमा लोकसाहित्य र लोककला अझ सान्दर्भिक भएको बताउँदै आफ्नै मातृभाषा, संस्कृति र परम्पराप्रतिको गर्व नै वास्तविक परिचय भएको उल्लेख गरे।

मुख्य अतिथि एसआर सुब्बाले आफ्नो सम्बोधनमा अनुशासन, आत्म–अभिव्यक्ति र आत्म–गौरवको भावना विकास गर्न आग्रह गर्दै अस्तित्वको बोध र सम्बन्धको भावना बिना कुनै उपलब्धि सम्भव हुँदैन भने। उनले विद्यार्थीहरूलाई सिक्किम अकादेमी भ्रमण गर्न पनि आग्रह पनि गरे। सिक्किम अकादेमी नव–सर्जनशील मनहरूलाई प्रोत्साहन र सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको संस्थान भने उनले बताए।

कार्यशालामा तादोङ कलेजका नेपाली सम्मान लिएर अध्ययनरत विद्यार्थी, कञ्चनजङ्घा राज्य विश्वविद्यालय, सिक्किम विश्वविद्यालयका परास्नातक अनि शोधार्थीका साथै शिक्षक सहभागी गरी जम्मा १६० जना सहभागीहरूले दर्ता गरी उत्साहजनक सहभागिता जनाएका छन्।

कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापनसहित आकर्षक सांस्कृतिक प्रस्तुति गरिएको थियो, जसले नेपाली लोक संस्कृतिको आत्मा र सौन्दर्यलाई प्रकाशित गरेको विज्ञप्तिमा बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande