दार्जिलिङ, 13 अक्टोबर (हि.स.)। दार्जिलिङको गोर्खा रंगमञ्च परिसरस्थित जीटीए सभा गृहमा आज सभाध्यक्ष अन्जुल चौहानको सभापतित्वमा आपातकालीन बैठक सम्पन्न भएको छ। बैठकमा दार्जिलिङ पहाडमा हालसालै आएको आपदाका परिप्रेक्ष्यमा राहत तथा पुनर्स्थापना कार्यहरू प्रभावकारी बनाउने उद्देश्यले आपदा व्यवस्थापन समिति गठन गरिएको छ।
समितिको अध्यक्षमा सभासद कमल सुब्बा रहने भएको छ। सदस्यहरूमा अजय एडवर्ड्स, विनय तामाङ तथा अन्य सभासदहरू सामेल छन्। मूल्याङ्कन समितिले प्रस्तुत गरेको प्रारम्भिक प्रतिवेदन अनुसार उक्त आपदाबाट भएको क्षतिको अनुमानित रकम लगभग 950 करोड रुपियाँ रहेको छ।
बैठकमा राज्य तथा केन्द्र सरकारले यस घटनालाई राज्य स्तरीय र राष्ट्रिय आपदा घोषणा गर्नुपर्ने प्रस्ताव पनि पारित गरिएको छ। यदि कुनै क्षतिको विवरण छुटेको छ भने सम्बन्धित पक्षले आगामी 24 घण्टाभित्र समितिलाई उपलब्ध गराउनु पर्नेछ। नवगठित आपदा व्यवस्थापन समितिले राज्य तथा केन्द्र सरकारसँग निरन्तर संयोजन गरी राहत, पुनर्निर्माण तथा पुनर्वासको कार्य अघि बढाउने बताइएको छ।
हिन्दुस्थान समाचार / हनोक