माटो कवि जीवन थिङ कविता उत्सव 2025 आगामी 18 अक्टोबरमा
माटो कवि जीवन थिङ कविता उत्सव 2025 आगामी 18 अक्टोबरमा


गान्तोक, 14 अक्टोबर (हि.स.)। सिक्किम अकादेमी र साहित्यिक समूह चिया कविता सिक्किमले संयुक्त रूपमा एक दिने कविता महोत्सव “माटो कवि जीवन थिङ कविता उत्सव 2025” आयोजना गर्दैछ, जुन ‘माटो कवि’ जीवन थिङको जीवन र योगदानलाई समर्पित हुनेछ। कार्यक्रम अक्टोबर 18 मा सम्पन्न गरिनेछ।

जीवन थिङ, जसको सन् 1978 मा मात्र 23 वर्षको उमेरमा निधन भएको थियो, सिक्किमका सबैभन्दा प्रतिभाशाली नेपाली कवि तथा लेखकहरू मध्ये एक मानिन्छन्। नेपाली साहित्यिक वृतमा उनलाई क्रान्तिकारी युवा कवि भनेर पनि चिनिन्छ।

मंगलबार पत्रकारहरूसँग कुरा गर्दै सिक्किम अकादेमीका अध्यक्ष एसआर सुब्बाले भने, सिक्किमी समाजले जीवन थिङका साहित्यिक योगदानहरू कहिल्यै बिर्सनु हुँदैन। हाम्रो तर्फबाट सिक्किम अकादेमीले चिया कविताको सहकार्यमा अक्टोबर 18 मा उहाँको स्मृतिमा कविता कार्यक्रम आयोजना गर्दैछ। सिक्किमका विभिन्न भागहरूबाट आएका कविहरूले ‘माटो कवि’ जीवन थिङको जीवन र रचनामा आधारित कविता वाचन गर्नेछन्।”

यो साहित्यिक कार्यक्रम ‘माटो कवि जीवन थिङ कविता उत्सव 2025’ शीर्षकमा गान्तोकको डेभलपमेन्ट एरियास्थित एससी भवनमा आयोजना गरिनेछ। रोचक कुरा के छ भने, डेभलपमेन्ट एरियाको एक सडकको नाम कविको सम्मानमा 80 को दशकको अन्त्यतिर “जीवन थिङ मार्ग” राखिएको थियो।

सन् 1955 मा जन्मिएका जीवन थिङ, गान्तोक सिच्छेका कारसाङ र डोल्मी थिङका छोरा थिए। त्यतिबेला सिक्किम एक स्वतन्त्र राजशाही थियो। थिङले उत्तर बङ्गाल विश्वविद्यालयबाट राजनीतिक विज्ञानमा स्नातकोत्तर उपाधि प्राप्त गरेका थिए। उनका रचनाहरूमा आफ्नै पहाडी मातृभूमिप्रतिको गहिरो प्रेम झल्किन्छ।

सिक्किम अकादेमीका अध्यक्ष एसआर सुब्बा र महासचिव फुर्बा योञ्जनले बताए अनुसार, संस्थाको उद्देश्य ‘माटो कवि जीवन थिङ कविता उत्सव’ लाई वार्षिक कार्यक्रमको रूपमा स्थापित गर्नु हो।

उनीहरूले भने, “यद्यपि सिक्किम अकादेमीका अध्यक्ष र महासचिवलाई राज्य सरकारले तीन वर्षको कार्यकालका लागि नियुक्त गर्छ, र हाम्रो कार्यकाल अन्त्यतिर पुगेको छ। हामी खुशी हुनेछौं यदि नयाँ अध्यक्ष र महासचिवले यो पहललाई निरन्तरता दिई जीवन थिङलाई वार्षिक श्रद्धाञ्जलीका रूपमा यस कार्यक्रमलाई अघि बढाउनेछन्।”

चिया कविता तर्फबाट प्रतिनिधित्व गर्दै संयोजक प्रवीण खालिङले जनाए अनुसार, करिब 60 जना कवि सिक्किमका विभिन्न भागहरूबाट यस साहित्यिक कार्यक्रममा सहभागी हुनेछन्। उनले भने, “हामीले अंग्रेजी, नेपाली र हिन्दी भाषामा ‘माटो कवि’ लाई समर्पित कविताहरू सुन्नेछौं, साथै जीवन थिङको जीवन र रचनाहरूमा आधारित एक प्रस्तुति पनि हुनेछ।यसका साथै कविता उत्सवमा द एको यात्रा ब्याण्डले संगीत प्रस्तुत गर्नेछन्।”

त्यस्तै सिक्किम एकेडेमीका प्रशासनिक सचिव पीएल शर्माले जीवन थिङको प्रतिमा स्थापना सम्बन्धी गरिएको प्रयासबारे जानकारी दिए। उनले आगामी दिनहरूमा पनि जीवन थिङको नाममा कविता उत्सव निरन्तर आयोजना गरिनु आवश्यक रहेको बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande