नयाॅं दिल्ली, अक्टोबर २० (हि.स.)। भारतका रेल मन्त्री अश्विनी वैष्णवले आज रेलवे बोर्डको वार रुमको भ्रमण गर्दै चाडपर्व अवधिमा यात्रीहरूको आवागमनको स्थितिबारे जानकारी लिए। उनले २४ घण्टा निरन्तर काम गरिरहेका कर्मचारीहरूको प्रशंसा गर्दै दिपावलीको अवसरमा शुभकामना पनि दिए।
भारतीय रेलले हाल चलिरहेको पर्व–अवधिमा यात्रुको बढ्दो माग पूरा गर्न विस्तृत तयारी र विशेष व्यवस्था गरेको छ। पूजा, दिपावली र छठ पर्वका अवसरमा यात्रीहरूको सहज आवागमन सुनिश्चित गर्नका लागि रेलले १२,०११ विशेष रेलहरू सञ्चालन गरिरहेको छ। गत वर्ष यही अवधिमा ७,७२४ रेलहरू चलाइएका थिए।
रेल मन्त्रालयका अनुसार, भारतीय रेलले भीडभाडको समयमा यात्रीहरूलाई सहज र आरामदायक यात्रा अनुभव दिलाउन पूरा क्षमताका साथ काम गरिरहेको छ। नियमित रेल सेवाका अतिरिक्त, १ अक्टोबरदेखि १९ अक्टोबरसम्मको अवधिमा ३,९६० विशेष रेलहरूको सफल सञ्चालन भइसकेको छ।
दिपावली र छठ पर्वमा यात्रुको संख्या अझै बढ्ने अपेक्षा गरिएकोले, भारतीय रेलले आगामी दिनहरूमा करिब ८,००० थप विशेष रेलहरू सञ्चालन गर्ने योजना बनाएको छ। यी विशेष रेलहरू भारतका सबै रेल जोनहरूमा चलाइँदै छन्, जसमा उत्तर रेलवे (१,९१९ रेल), मध्य रेलवे (१,९९८ रेल), पश्चिम रेलवे (१,५०१ रेल), सबैभन्दा बढी रेल सञ्चालन गरिरहेका छन्।
त्यस्तै पूर्व मध्य रेलवे (१,२१७) र उत्तर पश्चिम रेलवे (१,२१७) सहित अन्य जोनहरूले पनि क्षेत्रीय यात्रु आवश्यकताहरू पूरा गर्न थप रेलहरू सुरु गरेका छन्।
यसअघि केन्द्रिय मन्त्रीले नयां दिल्ली र आनन्द विहार रेलवे स्टेशनहरूको पनि भ्रमण गरी यात्रीहरूसँग प्रत्यक्ष कुराकानी गरेका थिए र रेलवेले गरेका व्यवस्थाबारे उनीहरूको प्रतिक्रिया लिएका थिए। यात्रुको सहज यात्राका लागि गरिएको विशेष व्यवस्थामा होल्डिङ क्षेत्र, अतिरिक्त टिकट काउन्टर, पिउने पानीको सुविधा, रेल समय प्रदर्शन प्रणाली र अन्य यात्री सुविधाहरू समावेश छन्।
रेल मन्त्रालयका अनुसार, भारतीय रेलवेले चाडपर्वको भीडमा सबै यात्रुलाई सुरक्षित, आरामदायक र बिना असुविधाको यात्रा प्रदान गर्ने दृढ प्रतिबद्धता जनाएको छ।
हाल १२ लाखभन्दा बढी रेलवे कर्मचारीहरू यात्रुहरूको सहज र सुखद यात्रा सुनिश्चित गर्न २४ घण्टा निरन्तर परिश्रम गरिरहेका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी