मुम्बई, 21 अक्टूबर (हि.स.)। बलिउडका दिग्गज अभिनेता तथा निर्देशक असरानीको सोमबार साँझ निधन भएको छ। ८४ वर्षीय असरानीको निधन मुम्बईको आरोग्य निधि अस्पतालमा भएको हो। सान्ताक्रुजको शास्त्री नगर शवदाह गृहमा परिवार र नजिकका साथीहरूको उपस्थितिमा उनको अन्त्येष्टि गरियो।
यो खबरले सम्पूर्ण फिल्म उद्योगलाई गहिरो शोकमा डुबाएको छ। असरानीले निधन हुनु केही घण्टाअघि मात्र आफ्नो इन्स्टाग्राम स्टोरीमा दिवाली २०२५ को शुभकामना सन्देश साझा गरेका थिए। रिपोर्टअनुसार, उनले मृत्यु अघि आफ्नी श्रीमती मञ्जू असरानीलाई भनेका थिए कि उनको मृत्युमा कुनै हल्ला वा भीड नहोस्। त्यसैले परिवारले कुनै औपचारिक घोषणा नगरी शान्त रूपमा उनको अन्त्येष्टि गरेको हो।
३५० भन्दा बढी फिल्ममा असरानीको जादू
असरानीको फिल्मी यात्रा सन् १९६० को दशकमा सुरु भएको थियो। उनले आफ्नो करियरमा ३५० भन्दा बढी फिल्महरूमा अभिनय गरे। हास्य भूमिकादेखि गम्भीर पात्रहरूसम्म, असरानीले सधैं आफ्नो अलग छाप छोडे। सन् १९७० को दशकमा उनी बलिउडका सबैभन्दा लोकप्रिय चरित्र अभिनेताहरूमा गनिन्थे।
उनले ‘मेरे अपने’, ‘कोशिश’, ‘बावर्ची’, ‘परिचय’, ‘अभिमान’, ‘चुपके चुपके’, ‘छोटी सी बात’, र ‘रफू चक्कर’ जस्ता चर्चित फिल्महरूमा उत्कृष्ट अभिनय गरे।
उनको ‘शोले’ फिल्मको सनकी जेलरको भूमिका आज पनि दर्शकहरूको मनमा ताजा छ। पछिल्ला वर्षहरूमा उनले ‘भूल भुलैया’, ‘धमाल’, ‘ऑल द बेस्ट’, ‘वेलकम’, ‘आर... राजकुमार’, र ‘बन्टी और बबली 2’ जस्ता हिट फिल्महरूमा पनि काम गरे।
जयपुरदेखि मुम्बईसम्मको यात्रा
१ जनवरी, १९४१ मा जयपुरको एक सिन्धी हिन्दू परिवारमा जन्मिएका असरानीले आफ्नो अभिनय यात्रा थिएटरबाट सुरु गरेका थिए। उनले सन् १९६० देखि १९६२ सम्म ललित कला भवन, ठक्करबाट अभिनयको शिक्षा लिएका थिए। त्यसपछि उनी मुम्बई आए, जहाँ उनको भेट प्रसिद्ध फिल्मनिर्माता किशोर साहू र ऋषिकेश मुखर्जी सँग भयो। उनीहरूको सल्लाहमा असरानीले व्यावसायिक तालिम लिए र फिल्म क्षेत्रमा प्रवेश गरे।
हिन्दी फिल्महरूसँगै असरानीले गुजराती सिनेमामा पनि योगदान दिएका थिए। उनी न केवल एक असाधारण अभिनेता थिए, तर निर्देशनमा पनि आफ्नो पहिचान बनाउन सफल भएका थिए।
बलिउडका यस महान कलाकारको बिदाइले भारतीय सिनेमामा ठूलो खालीपन छोडेको छ।
उनको अदाकारी, सहज हास्य र जीवन्त संवाद प्रस्तुतीले दर्शकहरूको पुस्तौंसम्म मनोरञ्जन गरेको छ, र अब उनी स्मृतिहरूमा सधैं जीवित रहनेछन्।
-------------
हिन्दुस्थान समाचार / भवानी थामी