
पटना, 24 अक्टोबर (हि.स.)।
प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहार विधानसभाको निर्वाचन अभियानको औपचारिक सुरुवात गर्दै समस्तीपुरको कर्पूरी गाउँ पुगे र भारतरत्न स्वर्गीय कर्पूरी ठाकुरलाई पुष्पाञ्जली अर्पण गरे।
समस्तीपुरमा आयोजित विशाल सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले फेरि एकपटक बिहारमा एनडीएको सशक्त सरकार बन्ने दाबी गर्दै भने, “जब नियत सफा हुन्छ, नीतिहरू देशहितमा हुन्छन्, तब जनता आशीर्वाद दिन्छ।” तेजस्वी यादव र लालू यादवमाथि प्रहार गर्दै उनले भने, अब बिहार पुनः जंगलराजतर्फ फर्किनेवाला छैन। सन् २००५ को अक्टोबर महिनामा नै बिहारले जंगलराजबाट मुक्ति पाएको थियो। नीतीश कुमारको नेतृत्वमा सुशासन सुरु भएको थियो।
मोदीले आरोप लगाए, कांग्रेस–राजदको दस वर्षे केन्द्र सरकारका समयमा बिहारमा विकासका कामहरू रोकिए, तर नीतीश कुमारले राज्यलाई कठिनाइबाट निकालेका छन्। प्रधानमन्त्रीले भने, “आज बिहार नयाँ युगमा छ। कुनै पनि कुनामा विकासका काम नभएको ठाउँ छैन। जहाँ जाँदा पनि विजुली, पानी, ग्यास र सडकका कामहरू देखिन्छन्। यो समृद्धिको मार्ग हो जसले सबैलाई रोजगारीका अवसर दिन्छ।”
मोदीले जनसभामा भने, गत ११ वर्षमा जनता जहाँ जहाँ एनडीएलाई मौका दिइरहेको छ, त्यहाँ त्यहाँ विकासको नयाँ अध्याय लेखिएको छ। “महाराष्ट्र, हरियाणा, गुजरात, उत्तराखण्ड— सबै ठाउँमा जनता एनडीएलाई पहिलेभन्दा बढी जनादेश दिइरहेकी छ। एनडीए मतलब विकासको ग्यारेन्टी हो।”
उनले जनताको उत्साह देखेर भने, “नीतीश बाबूको नेतृत्वमा बिहारमा एनडीए सबै रेकर्ड तोड्नेछ।”
प्रधानमन्त्री मोदीले आफ्नो भाषण मिथिला भाषामा सुरु गरे। उनले भने, “चाडपर्वको बीचमा यति ठूलो भीड आउनु ठूलो कुरा हो। यहाँ उपस्थित सबैलाई धन्यवाद।” उनले भने, कर्पूरी गाउँमा पुगेर भारतरत्न जननायक कर्पूरी ठाकुरलाई नमन गर्ने अवसर पाएका थिए। “हामी जस्ता पछाडिएका र गरीब परिवारका मानिसहरूलाई यस स्तरमा पुग्न प्रेरणा दिने व्यक्तित्व कर्पूरी ठाकुर हुनुहुन्थ्यो। उनले आजाद भारतमा सामाजिक न्याय ल्याउन ठूलो भूमिका खेले।”
मोदीले भने, मुफ्त उपचार, नलको पानी, र सबै प्रकारका सुविधा एनडीए सरकारले उपलब्ध गराइरहेको छ। सामाजिक न्यायको बाटोलाई एनडीएले सुशासनको आधार बनाएको छ। एनडीएले अनुसूचित जाति–जनजातिको आरक्षणलाई अघि बढाएको छ। गरीब र पछाडिएकाहरूका लागि मेडिकल पढाइमा आरक्षणको व्यवस्था पनि एनडीए सरकारकै देन हो।
उनले भने, कर्पूरी ठाकुर मातृभाषामा पढाइका ठूला हिमायती थिए, र अहिले हाम्रा नीतिहरूले त्यसैबाट प्रेरणा लिएका छन्। अब वञ्चित परिवारको छोरो पनि आफ्नै भाषामा पढ्न सक्छ। प्रधानमन्त्रीले विपक्षमाथि प्रहार गर्दै भने, जो घोटालामा सम्लग्न छन्, अरबौं–खर्बौंका घोटालामा जमानतमा बाहिर छन्, ती जननायकको उपाधि चोर्न खोजिरहेका छन् — यो हामी सहनेछैनौं।”
हिन्दुस्थान समाचार / भवानी थामी