‘अबकी बार मोदी सरकार’ लाई आवाज दिएका विज्ञापन दिग्गज पियूष पाण्डेको निधन
‘अबकी बार मोदी सरकार’ लाई आवाज दिएका विज्ञापन दिग्गज पियूष पाण्डेको निधन


मुम्बई, 24 अक्टोबर (हि.स.)।

विज्ञापन जगतबाट एक अत्यन्तै दुःखद खबर आएको छ। देशका प्रतिष्ठित र क्रिएटिभ विज्ञापनहरूका प्रतीक बनेका प्रसिद्ध आवाजदातासँगै विज्ञापनका माहिर पियूष पाण्डेको अक्टोबर २३ मा ७० वर्षको उमेरमा निधन भएको छ। भारतको विज्ञापन इतिहासमा उनको नाम त्यस्तो ताराका रूपमा अंकित छ, जसको चमकले आम मानिसको भाषा र भावनालाई विज्ञापनको संसारसँग जोडिदियो। केन्द्रिय अर्थमन्त्री निर्मला सीतारमणले उनलाई श्रद्धाञ्जली अर्पण गरेकी छन्। सन् १९५५ मा जयपुरमा जन्मेका पियूष पाण्डे साधारण परिवारका थिए। नौ दाजुभाइबहिनीहरूबीच हुर्किएका उनका पिता ब्याङ्कमा जागिर गर्थे। तर पियूषले आफ्नो जीवनलाई आफ्नै दिशामा मोड्ने साहस गरे। कहिले क्रिकेट मैदानमा ब्याट समात्दै, कहिले चिया बनाउँदै र कहिले मजदुरको रूपमा काम गर्दै उनले जीवनका वास्तविक रंगहरू नजिकबाट महसुस गरे। यही अनुभवहरूले उनको आवाज र सोचलाई जमीनसँग जोडेर राख्यो।

२७ वर्षको उमेरमै उनले विज्ञापन क्षेत्रमा पाइला टेके र ओगिल्भी कम्पनीसँग जोडिए। उनले लेखेका र बोलेका विज्ञापनहरू केवल बजारको प्रचार होइन, भारतीय जनमानसको प्रतिबिम्ब बने। एशियन पेन्ट्स, क्याडबरी, फेविकोल र हच जस्ता ठूला कम्पनीहरूले उनको आवाजमार्फत मानिसहरूको मनमा आफ्नो स्थान बनाए। उनले सरकारी अभियानहरूलाई पनि सहज, सरल र प्रभावशाली आवाजद्वारा जनजनसम्म पुर्‍याए।

‘अबकी बार मोदी सरकार’ जस्ता राजनीतिक अभियानदेखि ‘मिले सुर मेरा तुम्हारा’ र ‘हर घर कुछ कहता है’ जस्ता सांस्कृतिक प्रतीकहरूसम्म, पियूषको आवाज भारतीय विज्ञापनको पर्याय बन्यो।

पियूषको निधनसँगै सम्पूर्ण विज्ञापन र मनोरञ्जन क्षेत्र शोकमा डुबेको छ। अर्थमन्त्री निर्मला सीतारमणले श्रद्धाञ्जली दिँदै भनिन्, पियूष पाण्डेले दैनिक भाषालाई, हास्य र आत्मीयतासँग मिलाएर विज्ञापन संचारको हिस्सा बनाए। सोहेल सेठले भावुक हुँदै भने, “अब स्वर्गमा ‘मिले सुर मेरा तुम्हारा’ मा उत्सव र नृत्य हुनेछ।”

पियूष पाण्डेले आफ्नो कामद्वारा प्रमाणित गरे कि विज्ञापन केवल उत्पादन बेच्ने साधन होइन, भावनालाई आवाज दिने कला हो। उनको आवाज अब मौन भए तापनि उनका सिर्जना र संवादहरू सधैं भारतको हावामा गुञ्जिरहनेछन्। भारतीय विज्ञापन जगतको यो स्तम्भ सधैं प्रेरणाको स्रोत रहिरहनेछ। उनका कामबाट उत्पन्न संवेदनाले आउने पुस्ताका कलाकारहरूलाई नयाँ सपना देख्ने हिम्मत दिइरहनेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande