खरसाङ शहर क्षेत्रमा चोरीको घटनाका मुख्य आरोपी युवक पुलिसद्वारा पक्राउ
खरसाङ शहर क्षेत्रमा चोरीको घटनाका मुख्य आरोपी युवक पुलिसद्वारा पक्राउ


खरसाङ, 26 अक्टोबर (हि.स.)। लगभग एक महिनादेखि खरसाङ शहर क्षेत्रका विभिन्न ठाउँमा एकपछि अर्को चोरीको घटनाका मुख्य आरोपी युवकलाई आज खरसाङ पुलिसले पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार, लगभग एक महिनादेखि खरसाङ बजार क्षेत्रको विभिन्न ठाउँबाट दिउँसै एउटा युवकले विभिन्न सर-सामग्रीसहित नगद अनि मोबाइल फोन चोरेर लगेको सीसीटीभी फुटेज अघि आएको थियो।

चोरीका घटनाहरूलाई गम्भीरतापूर्वक लिँदै पुलिस प्रशासनले आज खरसाङ बजार क्षेत्रबाट आरोपी चोरलाई पक्राउ गरेको छ। पुलिसद्वारा दिइएको जानकारी अनुसार, प्राथमिक जाँचमा उक्त युवक कालेबुङ निवासी रहेको थाहा लागेको छ। पक्रा पर्ने व्यक्तिबाट पुलिसले चोरी गरिएका मोबाइल फोनसहित अन्य विभिन्न सामग्रीहरू जफत गरेको छ। पुलिसले आरोपी विरुद्ध कानूनी कारबाही शुरू गरेको जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande