
खरसाङ, 27 अक्टोबर (हि.स.)। गत 4 अक्टोबरमा आएको भारी वर्षाले मिरिक अनि सिलगढीलाई जोड्ने बालासन खोलाको फलामे पुल क्षतिग्रस्त भएपछि दुधेको पुल भएर सवारी साधनहरूको आवागमन चलिरहेको थियो। यस कारण दैनिक रूपमा यस मार्ग भएर यातायात गर्ने जनसाधारणलाई धेरै असुविधा भइरहेको थियो। दुधे बालसन खोलामा अस्थायी पुलको निर्माण कार्य समाप्त भइसकेपछि सोमबारदेखि वाहनहरूको निम्ति उक्त अस्थायी पुल खोलिएको छ।
क्षेत्रीय कार्यकारी सभासद कल्पना प्रधानले दुधेस्थित बालासन खोलामा निर्मित उक्त अस्थायी पुलको आज स्थलगत भ्रमण गरिन्। उनले दुधेको बाटो बन्द हुॅंदा नोलमा भएको वाहन दुर्घटनाप्रति शोक प्रकट गरिन् भने यति छोटो समयमा पनि यति ठूलो अस्थायी पुल निर्माण गरिएकोमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी, जीटीए प्रमुख कार्यपाल अनित थापा, पीडब्लूडी विभाग, ठेकादार साथै स्थानीय प्रशासनप्रति कृतज्ञता प्रकट गरेकी छन्।
प्रधानले वाहन चालकहरूलाई उक्त अस्थायी पुलमा गाडी चलाउँदा अनुशासित भएर चलाइदिन अनुरोध पनि गरेकी छन्।
हिन्दुस्थान समाचार / हनोक