
गान्तोक, 27 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशनमा मुख्यमन्त्रीका राजनीतिक सचिव र अतिरिक्त राजनीतिक सचिवहरूको समन्वय बैठक गान्तोकमा सम्पन्न भयो। बैठकको अध्यक्षता मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले गरेको थियो। बैठकमा मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत लगायत अतिरिक्त राजनीतिक सचिवहरू फुर्बा भोटिया, छिरिङ वाङ्चुक लेप्चा, विशाल शर्मा, विष्णु शर्मा, एरास लेप्चा र मधुसूदन शर्मा उपस्थित थिए।
बैठकमा शासन, पार्टी समन्वय र राज्यको वर्तमान राजनीतिक परिदृश्यसम्बन्धी धेरै महत्वपूर्ण मुद्दाहरूमा विचार विमर्श भयो। विशेष गरी मुख्यमन्त्रीका निर्देशनहरू, नीतिहरू र सञ्चारलाई राजनीतिक र अतिरिक्त राजनीतिक सचिवहरू मार्फत तृणमूल स्तर र पार्टी कार्यकर्ताहरूसम्म प्रभावकारी रूपमा पुऱ्याउनु पर्ने विषयमा छलफल भयो।
अतिरिक्त राजनीतिक सचिवहरूले विभिन्न सुझाउहरू र टिप्पणीहरू राखेका थिए, जुन थप विचारको लागि मुख्यमन्त्री समक्ष प्रस्तुत गरिने बताइएको छ। सहभागीहरूले पार्टीका क्रियाकलापहरू मजबुत पार्ने, सरकारका उपलब्धिहरू जनसाधारणबीच प्रवर्धन गर्ने र व्यापक पहुँच र प्रचारको लागि सामाजिक सञ्जाल माध्यमको भूमिकालाई मजबुत पार्ने कुरामा पनि जोड दिए।
मुख्यमन्त्री तामाङको गतिशील नेतृत्व क्षमताको सामूहिक स्वीकृतिसहित सिक्किमको समग्र विकासतर्फको उनका अथक प्रयासहरूको बैठकमा विशेष चर्चा भएको जनाइएको छ। राजनीतिक सचिवहरु र अतिरिक्त राजनीतिक सचिवहरूले मुख्यमन्त्रीको प्रगतिशील र समृद्ध सिक्किमको दृष्टिलाई साकार पार्न हातेमालो गरी काम गर्ने आफ्नो प्रतिवद्धता जाहेर गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल