
बाकु, 18 नोभेम्बर (हि.स.)। भारत सरकारको सञ्चार तथा ग्रामीण विकास राज्यमन्त्री डा. चन्द्रशेखर पेम्मासानीले प्रवासी भारतीयहरूको सफलताले भारतको विश्वव्यापी छवि बलियो बनाउँछ, उनीहरूको निवेशले नयाँ अवसरहरू सिर्जना गर्छ र तिनीहरूका सन्तानले दुवै देशबीच सांस्कृतिक सेतुको रूपमा काम गर्छन् भनी बताएका छन्।
डा. पेम्मासानीले अजरबैजानको राजधानी बाकुमा भारतीय समुदायलाई सम्बोधन गर्दै भारतीय प्रवासीहरूलाई मार्गदर्शक (मेन्टोर) बन्न, युवा उद्यमीहरूलाई सहयोग गर्न, भारतमा निवेश बढ़ाउन र देशको विकास यात्रामा सक्रिय सहभागी हुन अपील गरे। कार्यक्रममा १,००० भन्दा बढ़ी भारतीय मूलका व्यक्तिहरू सहभागी थिए। तीमध्ये अन्तरराष्ट्रिय तेल–ग्यास, आतिथ्य तथा कमोडिटी ट्रेडिङ क्षेत्रका पेशेवरहरूका साथै अजरबैजानका विभिन्न विश्वविद्यालयमा अध्ययनरत ३८० भारतीय विद्यार्थी पनि सहभागी थिए।
डा. पेम्मासानीले भारतीय समुदायको एकता र संगठन क्षमताको प्रशंसा गरे। उनले इन्डियन–अजरबैजान एसोसिएशन, अजरबैजान–तेलुगु एसोसिएशन, बाकु तमिल संघम र इन्डियन स्टुडेन्ट्स एसोसिएशन अफ अजरबैजानजस्ता संस्थाहरूको विशेष उल्लेख गर्दै भने, सयौँ किलोमिटर टाड़ा रहँदा पनि यो समुदायले आधुनिक, लचिलो र आफ्ना जरासँग जोडिएको भारतको तस्वीर प्रस्तुत गर्दैछ। भारतको डिजिटल क्रान्ति, नवीकरणीय ऊर्जा, अन्तरिक्ष कार्यक्रम र आर्थिक प्रगतिका विषयमा चर्चा गर्दै मन्त्रीले युवाहरूलाई आफ्नो दोहोरो पहिचानमा गर्व गर्न र प्राचीन भारतीय ज्ञानलाई आधुनिक, बहुसांस्कृतिक दृष्टिकोणसँग जोड्न आग्रह गरे।
हिन्दुस्थान समाचार / बिशाल