युवा पत्रकार सूरज लिम्बूलाई 'ग्रामीण पत्रकारिता पुरस्कार 2025' ले पुरस्कृत गरिने
सूरज सुब्बा


गान्तोक, 20 नोभेम्बर (हि.स.)। प्रेस क्लब अफ् सिक्किमले वर्ष 2025 को ग्रामीण पत्रकारिता पुरस्कारद्वारा युवा पत्रकार सूरज लिम्बूलाई पुरस्कृत गर्ने भएको छ। सिक्किम सरकारको सूचना एवम् जनसम्पर्क विभागद्वारा आयोजन गरिने राष्ट्रिय प्रेस दिवसको अवसरमा पत्रकार सूरज लिम्बूलाई प्रेस क्लब अफ् सिक्किमद्वारा नगदराशि, स्मृति चिन्ह एवम् प्रशस्ति-पत्रद्वारा पुरस्कृत गरिनेछ।

प्रेस क्लब अफ् सिक्किमले भनेको छ, पश्चिम सिक्किमको योक्सम-टाशीडिङ समष्टिअन्तर्गत रिम्बीमा 20 जनवरी, 1996 मा जन्म ग्रहण गरेका लिम्बूले दराप उच्चत्तर माधयमिक विद्यालयबाट स्कूले शिक्षा ग्रहण गरेपछि नाम्ची सरकारी महाविद्यालयबाट स्नातक अनि सिक्किम विश्वविद्यालयबाट इतिहास विषयमा स्नातकोत्तरको अध्ययन पूरा गरेका हुन्।

स्वर्गीय बिर्खबहादुर लिम्बू र सारा लिम्बूका छोरा सूरजले सन् 2020 देखि सम्मिट टाइम्सबाट संवाददाताका रूपमा पत्रकारिताको यात्रा आरम्भ गरेका हुन्। उनी हाल सिक्किम न्यूज 24 मा सम्पादकका रूपमा कार्यरत् छन्। उनी एक लगनशील पत्रकारका रूपमा पत्रकार जगतमा चिनिन्छन्। पत्रकारिताको पाँच वर्षको यात्रामा उनले ग्रामीण क्षेत्रका विभिन्न महत्त्वपूर्ण समाचारहरूलाई सर्व साधारणसम्म पुऱ्याउने कार्य गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande