दार्जिलिङका शिक्षकहरूका यो कानूनी लड़ाइँ हो, म तपाईहरूको पक्षमा दृढ़तापूर्वक उभिएको छु: अनित थापा
अनित थापा


दार्जिलिङ, 17 दिसम्बर (हि.स.)। दार्जिलिङका ३१३ शिक्षकहरू सम्बन्धी आज कलकत्ताको उच्च न्यायालयले सुनाएको फैसलाले धेरैको मनमा प्रश्न उत्पन्न गरेको छ। यस विषयमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले एक प्रेस विज्ञप्ति जारी गर्दै यो कुनै शिक्षकको गल्तीको कारणले होइन, तर गत २५ वर्षदेखि दार्जिलिङ पहाडमा शिक्षक नियुक्ति नियमावली नहुनुको परिणाम रहेको बताएका छन्।

उनले भने, पहाडमा स्वयंसेवी शिक्षकहरूको नियुक्ति तत्कालीन व्यवस्था र परिस्थितिको उपज थियो। २००३ देखि अहिलेसम्म शिक्षक नियुक्तिका सबै प्रक्रिया नियुक्ति नियम बिना नै भएका छन्। तर, त्यही शिक्षकहरूको समर्पण र योगदानकै कारण आज हाम्रो पहाडका हजारौं विद्यार्थीहरू सरकारी अधिकारी, शिक्षक र उत्कृष्ट पेशेवर बनेका छन्।'

उनले अघि भने, 'तपाईहरूको त्याग, शिक्षा र लगनको म गहिरो सम्मान गर्दछु। म सम्पूर्ण शिक्षित वर्गलाई निवेदन गर्न चाहन्छु, हतोत्साहित नहुनुहोस्, यो समय हाम्रो एकताको परीक्षा हो। यो कानूनी लड़ाइँ हो र म तपाईहरूको पक्षमा दृढतापूर्वक उभिएको छु।'

अनित थापाले अझ भने, 'म विश्वास दिलाउँछु कि हामी यो लड़ाइँ कानूनी रूपमा जित्नेछौं, चाहे त्यसका लागि उच्च अदालतको डिभिजन बेञ्चदेखि लिएर सर्वोच्च अदालतसम्म जानुपरोस्। तपाईहरूको न्याय र सम्मानका लागि म कुनै पनि हदसम्म जानेछु। सत्यको पक्ष सधैं बलियो हुन्छ र हामी सत्यको पक्षमा छौं।'

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande