
खरसाङ, 18 दिसम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा कार्यालयमा अहिले चलिरहेको गहन संसोधन पुनरीक्षण (एसआईआर) को निम्ति नगरपालिका अन्तर्गत एकदेखि बीस नम्बर वार्डसम्मका सत्ताइसवटा बुथका बीएलएहरुलाई लिएर सभा सम्पन्न भयो। उक्त सभा शहर समितिका अध्यक्ष राजु शर्माको अध्यक्षतामा सम्पन्न भयो।
सभामा टाउन कमिटीका मूल सचिव बीरबल पाख्रीनले उपस्थित नेतृत्वहरू र प्रतिनिधिहरू लगायत पार्टी अध्यक्ष अनित थापाकाे अनुमोदनमा शहर समिति आधिकारिक रूपमा पद उन्नतिसॅंगै नियुक्त भएका सदस्यहरुसॅंग परिचय गराए। साथै, विगतको सभामा अनुपस्थित भएका टाउन कमिटीका नेतृत्वहरुलाई नियुक्ति पत्र पठन गरेर प्रदान गरियो। यस क्रममा सन्तोष परी अनि रञ्जन गजमेरलाई टाउन कमिटीको उपाध्यक्ष, टाउन कमिटी सांगठनिक सचिवकाे रूपमा दिनेश छेत्री तथा राजेन राउत, कमल सिंह श्रीवाल, बुद्ध लेप्चा, पासाङ्ग योल्मो र अनुर लामालाई कार्यकारिणी सदस्यको नियुक्ति पत्र प्रदान गरियो।
यसरी नै सभामा वार्डलाई सांगठनिक रूपमा सुदृढ बनाउनको निम्ति रतन शेर्पा, रबि तोलाङ्गी, वार्ड नम्बर दश अनि सुरज वाल्मिकीलाई वार्ड नम्बर एघारका खरसाङ शहर समितिको तर्फबाट संयोजक नियुक्त गरिएको जानकारी दिँदै नियुक्ति पत्र प्रदान गरियो। सभामा एसआईआरमा छोडिएका मतदाताहरूको पुनः निरीक्षणकाे निम्ति खरसाङ महाविद्यालय, महकुमा कार्यालय खरसाङ, नगरपालिका कार्यालय अनि खरसाङ ट्रेजरी कार्यालयमा पुनः क्याम्प लाग्ने जानकारी दिइयो।
सभाध्यक्ष तथा टाउन कमिटीका अध्यक्ष राजु शर्माले सम्पूर्ण बीएलएहरूलाई एसआईआरमा जनसाधारणलाई सहयोग गरेको पार्टीको पक्षबाट धन्यवाद दिँदै मतदाता सूचीमा छोडिएका मतदाताहरूको नामलाई जोड्ने कार्य गरिदिन प्रोत्साहित गरे। टाउन कमिटीकाे तत्वावधानमा राखिएको यस महत्त्वपूर्ण सभामा महकुमा समितिका सांगठनिक सचिव लाक्पा लामा, टाउन कमिटीका उपाध्यक्ष सञ्जय मुखिया, सह सचिव विकास तामाङ, रामोद गुरुङ्ग, सांगठनिक सचिव सनी तमाङ, लगायत टाउन कमिटी का संपूर्ण कार्यकारीणी सदस्य उपस्थित थिए।
हिन्दुस्थान समाचार / हनोक