
गान्तोक, 19 दिसम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको सोरेङ जिल्ला कार्यकारिणी परिषद्को बैठक आज जोरथाङस्थित पार्टीको सर्कल कार्यालयमा बस्यो। सोरेङ जिल्लाका अध्यक्ष पीडी शेर्पाको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका वरिष्ठ नेतृत्वहरू र पदाधिकारीहरु उपस्थित थिए।
बैठकमा जिल्ला तहका कार्यक्रमहरू र संगठनात्मक गतिविधिसँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा विस्तृत छलफल गरियो। एसीईसी अध्यक्षहरूले आ–आफ्ना निर्वाचन क्षेत्रबाट तृणमूल तहका गतिविधि, सार्वजनिक चिन्ता र संगठनात्मक प्रगतिबारे प्रतिवेदन प्रस्तुत गरे। साथै, नयाँ नियुक्त पार्टी पदाधिकारीहरूलाई नियुक्ति आदेश औपचारिक रूपमा हस्तान्तरण गरियो।
जिल्ला परिषद्ले सोरेङ जिल्लाका जनतालाई असर गर्ने सबै स्थानीय मुद्दामा आवाज उठाउने, सक्रिय रहने र उत्तरदायी बन्ने निर्णय गरेको आज जारी एक प्रेस विज्ञप्तिमा उल्लेख छ। तृणमूल तहको सहभागिता र जनसम्पर्क सुदृढ़ बनाउन आगामी दिनहरूमा जिल्लाका सबै निर्वाचन क्षेत्रमा व्यापक सदस्यता अभियान सञ्चालन गर्ने पनि निर्णय गरिएको बताइएको छ।
बैठकलाई सम्बोधन गर्दै जिल्लाका महासचिव पबिन हाङ सुब्बाले महालेखा परीक्षक (सीएजी) को प्रतिवेदनले सिक्किम स्टेट ब्याङ्कलाई गम्भीर निगरानीमा राखेको विषयतर्फ ध्यानाकर्षण गराए। उनले सीएजीका अवलोकनहरूलाई सामान्य टिप्पणीका रूपमा नभई संवैधानिक चेताउनीका रूपमा लिनुपर्ने मन्तव्य राखे। उनले वित्तीय अनुगमन र शासनमा असफलता हुनु जनविश्वासको उल्लङ्घन हो भनी बताए। उनले पार्टीको तर्फबाट प्रतिवेदन सदनमा प्रस्तुत गरेकोमा महालेखा परीक्षकप्रति धन्यवाद व्यक्त गरे।
यसरी नै युवा परिषद्की उपाध्यक्ष इडु छिरिङ भोटियाले महिलामाथि हुने अनलाइन उत्पीडनका घटनाहरूमा भएको चिन्ताजनक वृद्धिको कडा निन्दा गरिन्। राष्ट्रिय महिला आयोगको हस्तक्षेपपछि पनि दोषीलाई कारबाहीमा ल्याउन सिक्किम पुलिसको उदासीनता र प्रभावकारी अनुगमनको अभावप्रति उनले गम्भीर चिन्ता व्यक्त गरिन्। यस्तो निष्क्रियताले अपराधीहरूलाई हौसला दिएको र राज्यमा महिलाको सुरक्षा तथा गरिमामाथि गम्भीर खतरा उत्पन्न गरेको उनले बताइन्।
आफ्नो सम्बोधनमा सभाध्यक्ष शेर्पाले सिक्किम लोकसेवा आयोग मार्फत भएका नियुक्तिहरूप्रति गम्भीर चिन्ता व्यक्त गरे। पारदर्शिता, मेरिट र निष्पक्षता कायम राख्ने संवैधानिक निकायले युवा आकांक्षीहरूको संवैधानिक अधिकार जोगाउन असफल भएको उनले आरोप लगाए। उनले बैठकलाई सिटिजन एक्शन पार्टी–सिक्किमको चौथो स्थापना दिवस २६ जनवरी, २०२६ मा मनाइने जानकारी दिँदै सोरेङ जिल्ला जकाइको तयारीको समीक्षा पनि गरे।
हिन्दुस्थान समाचार / बिशाल