राजधानीमा 29औं राष्ट्रिय युवा महोत्सव 2026 सम्पन्न
राजधानीमा 29औं राष्ट्रिय युवा महोत्सव 2026 सम्पन्न


गान्तोक, 19 दिसम्बर (हि.स.)। सिक्किम सरकारको खेलकुद एवं युवा मामिला विभागले केन्द्रिय युवा मामिला एवं खेलकुद मन्त्रालयको संयुक्त तत्वावधानमा आज राजधानीको पाल्जोर स्टेडियममा 29औं राष्ट्रिय युवा महोत्सव 2026 आयोजन गऱ्यो। यस अवसरमा राज्य खेलकुद विकास बोर्डका अध्यक्ष रिन्जिङ वाङ्ग्याल छोपेल मुख्य अतिथि थिए तथा बोझोघारी उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक शरद पौड्याल र सिच्छे उच्चतर माध्यमिक विद्यालयका एनएसएस कार्यक्रम अधिकारी अर्जुन प्रधान विशिष्ट अतिथि थिए।

मुख्य अतिथि अध्यक्ष छोपेलले आफ्नो सम्बोधनमा राज्यका सबै छ जिल्लाका युवाहरू आ-आफ्ना परम्परागत पहिरनमा सहभागी बनेकोमा सराहना गरे। परम्परागत पहिरनको संवर्द्धन गर्नुपर्ने मुख्यमन्त्रीको भिजनमाथि प्रकाश पार्दै उनले युवाहरूलाई स्वस्थ जीवनशैली अपनाउन र यसको प्रचार प्रसार गर्न आह्वान गरे।

यस अघि आयोजक विभागका उप निदेशक एसबी सुब्बाले यो कार्यक्रम नेतृत्व मूल्याङ्कन पहल अन्तर्गत आयोजना गरिएको र सबै प्रतिभागीहरू जिल्ला स्तरीय प्रतियो​गिताका विजेताहरू रहेको जानकारी गराए। उनले यस महोत्सवका विजेताहरूले आगामी वर्ष नयॉं दिल्लीमा आयोजन हुने राष्ट्रियस्तरका प्रतियोगिताहरूमा सिक्किम राज्यलाई प्रतिनिधित्व गर्ने बताए।

यस महोत्सव अन्तर्गत समूह लोक गीत, समूह लोक नृत्य, भाषण, कथा लेखन, कविता लेखन, चित्रकला र पीपीटी प्रतियोगिताहरू सामेल थिए। कार्यक्रममा विभिन्न विद्याका विजेता र उप विजेताहरूलाई प्रमाणपत्र र पुरस्कारहरू बितरण गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande