
खरसाङ, 7 दिसम्बर (हि.स.)। सिक्किमका विधायक मदन सिञ्चुरीलाई खरसाङमा विश्वकर्मा शताब्दी प्रिय जनप्रतिनिधि सम्मानद्वारा सम्मानित गरिएको छ। आइतवार खरसाङको सन्त अल्फन्सेस विद्यालयमा आयोजित खरसाङ विश्वकर्मा समाजको शतवार्षिकी समारोहमा भारतका विभिन्न स्थानहरुमा विभिन्न क्षेत्रमा योगदान दिने 10 जना विशिष्ट व्यक्तित्वहरूलाई विश्वकर्मा शताब्दी सम्मानद्वारा सम्मानित गरियो।
यसै क्रममा सिक्किमको जुम सालघारी विधानसभा समष्टिका विधायक मदन सिञ्चुरीलाई विश्वकर्मा शताब्दी प्रिय जनप्रतिनिधि सम्मानद्वारा सम्मानित गरियो। विधायकलाई समारोहका सभाध्यक्ष खरसाङ विश्वकर्मा समाजका सभापति निर्मलकुमार गहतराज, प्रमुख अतिथि एक सय वर्ष पुगेका वयोवृद्ध डीएस दर्नाल र विशिष्ट अतिथिहरुका बाहुलीबाट खदार्पणसहित टोपी पहिराएर साथै दोसल्ला ओढाएर स्मृति चिन्ह र प्रशस्ति पत्र प्रदान गरेर सम्मानित गरियो।
खरसाङ विश्वकर्मा समाजको शतवार्षिकी समारोह समितिका संयोजक विनोद रसाइलीले सञ्चालन गरेको उक्त कार्यक्रममा सिक्किमका विधायक मदन सिञ्चुरी विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए। यस अवसरमा उनले समारोहमा वक्तव्य पनि राखेका थिए।
हिन्दुस्थान समाचार / हनोक