
राज्यलाई होइन, आफैलाई झुक्यायौं, अनित थापाको आत्मस्वीकारोक्ति
सोनादा, 7 दिसम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) का अध्यक्ष तथा जीटीए प्रमुख कार्यपाल अनित थापाले एक कार्यक्रमका क्रममा सम्बोधन गर्दै भने, “हामीले राज्यलाई झुक्यायौं, तर वास्तवमा हामी आफैं झुक्किएका छौं। त्यही भूलको नोक्सान हामीलाई नै भयो।”
टुंग सन्त मेरिज समष्टिमा सम्पन्न भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिको पूर्णाङ्क समष्टि कमिटी गठन समारोहमा बोल्दै थापाले अघिल्ला राजनीतिक गल्तीहरूको महसुस गर्दै अब ‘बिगार्ने होइन बनाउने राजनीतिमा’ जोड दिनु पर्ने बताए। थापाले भने, “हामीले आवेशमा धेरै बिगाऱ्यों, अहिले होशमा आएर बनाउने काम गर्दैछौं। सही राजनीति गर्नु धेरै गाह्रो रहेछ। अब भाषण होइन, संगठन बलियो बनाउने काम गर्नुपर्छ।”
उनले निर्वाचित जनप्रतिनिधिहरूलाई जिम्मेवारी र अनुशासनमा रहन आग्रह गर्दै भने, “नेता हुनु सरकारी रोजगार होइन। यही झण्डाले तपाईलाई कुर्सी दिलायो। कुर्सी पाउनु भयो, झण्डा नबिर्सनुहोस्। झण्डाको सुरक्षा गर्नु तपाईँको जिम्मेवारी हो।
थापाले जीटीए र पञ्चायत चुनाउलाई संगठनात्मक अभ्यासको रूपमा उल्लेख गर्दै भने, “पञ्चायतका निर्वाचितहरू भाग्यमानी छन्। उनीहरूले यसै अवसरमा नेतृत्व सिकिरहेका छन्।”
कार्यक्रममा अनित थापाले हालको राजनीतिक परिदृश्यमा बीजीपीएमलाई “रचनात्मक राजनीति गर्ने पार्टी” को रूपमा परिभाषित गर्दै भने, “सभ्य राजनीतिमा फर्कने समय आएको छ। अब पहाडको राजनीति झण्डासँग र जिम्मेवारीसँग जोडिनुपर्छ।”
भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिको नयाँ समितिको टुंग सन्त मेरिज समष्टि कमिटीमा अध्यक्ष रोशन हाङ सुब्बा, उपाध्यक्षहरू विशाल भुजेल, सुवास तामाङ, पेम्बा तामाङ, सचिव सहदेव तामाङ, सह-सचिवहरू उमेश थापा, रञ्जु तामाङ, दिपेन्द्र लिम्बू, दिपेन सिञ्चुरी, सांगठनिक सचिव रञ्जिव तामाङ, कार्यालय सचिव असीम तामाङ, प्रवक्ता सन्तोष तामाङ, बिजय बम्जन, कोषाध्यक्ष कर्मा थामी, सह-कोषाध्यक्ष समीर तामाङ, सुदेश छेत्री, प्रचार प्रसार सचिव दिपेन खम्बू राई, मुख्य सल्लाहकारहरू उर्गेन घिसिङ, एम.बी. घले, सल्लाहकारहरू पंकज राई, प्रदीप तामाङ, रमेश तामाङ, विश्वमनी राई आदि चयनित भएका छन्।
हिन्दुस्थान समाचार / हनोक