सोनादा, 15 मार्च (हि.स.)। जर्जियन एफसी कालेबुङले भूतपूर्व सैनिक वेलफेयर एसोसिएशन पचेङ शाखाको आयोजनामा निम्न सोनादाको दुबे खेल मैदानमा आयोजित सिल्भर जुब्ली नकआउट नगदराशि फुटबल टुर्नामेन्टको उपाधि जितेको छ। शनिवार भएको फाइनल खेलमा गढवाल राईफल्सलाई हराएर जर्जियन एफसी कालेबुङले उपाधि आफ्नो नाम गरेको हो।
आज सपन्न फाइनल खेलमा जर्जियन एफसी कालेबुङले गढवाल राईफल्सलाई 3-0 को अन्तरले सजिलै जितेर उपाधि जितेको छ। आज मुख्य अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा क्षेत्रीय सभासद अनोश थापा, लोवर सोनादा ग्राम पञ्चायतको पञ्चायत प्रधान रेखा तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए।
यस फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफीससहित डेढ लाख रूपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रूपियाँ प्रदान गरिएको छ। भूतपूर्व सैनिक वेलफेयर एसोसिएशन पचेङ शाखाको रजत वर्ष अर्थात् 25 वर्ष पुगेको अवसरमा गत 19 जनवरीदेखि टुर्नामेन्ट शुरु भएको थियो।
यस फुटबल टुर्नामेन्टमा विभिन्न स्थानहरुबाट जम्मा 20 वटा टिमले सहभागिता जनाए। आज भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनको तर्फबाट गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापालाई सम्बर्द्धना पनि जनाइयो।
भूतपूर्व सैनिक कल्याण वेलफेयर एसोसिएशन पचेङ शाखाको सभापति अननेरी कप्तान एलबी राईले गत 19 यस फुटबल टुर्नामेन्टमा सहयोगको निम्ति गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाप्रति आभार प्रकट गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक