गेजिङ, 16 मार्च (हि.स.)। नवजात शिशु सुरक्षा कार्यक्रममाथि पहिलो ब्याचको निम्ति दुई दिवसीय आवासीय प्रशिक्षण कार्यक्रम गत 14 र 15 मार्चका दिन सम्पन्न गरियो। प्रशिक्षणमा सोरेङ जिल्लाका स्वास्थ्य कर्मीहरू सहभागी बने। प्रशिक्षण कार्यक्रमको आयोजना गेजिङ जिल्ला अस्पतालले गरेको थियो।
कार्यक्रममा गान्तोक र गेजिङ जिल्ला अस्पतालबाट स्रोत व्यक्तिहरू उपस्थित थिए, जसले नवजात शिशुहरूको हेरचाह सम्बन्धित व्यावहारिक प्रशिक्षण प्रदान गरे। सोरेङ जिल्लाका सीएमओ डा. नाम्गे भोटियाले प्रतिभागीहरूलाई प्रशिक्षणको क्रममा आर्जन गरेका ज्ञानलाई आफ्नो स्वास्थ्य केन्द्रहरूमा उपयोग गर्न आह्वान गरे। समापन कार्यक्रममा प्रतिभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
हिन्दुस्थान समाचार / बिशाल