कोलकाता, 17 मार्च (हि.स.)। राज्य सरकारले स्क्रब टाइफस र लेप्टोस्पाइरोसिस जस्ता रोगहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न विशेष कदम चालिरहेको छ। यी रोगहरूको उपचार र परीक्षणलाई पहुँचयोग्य बनाउन स्वास्थ्य विभागले नोडल केन्द्रहरूको संख्या बढाउने निर्णय गरेको छ।
स्वास्थ्य विभाग सुत्र अनुसार, हालै कोलकाताको बागबजार क्षेत्रका एक 12 वर्षीय किशोरलाई गम्भीर श्वासप्रश्वास समस्या र ज्वरोका कारण अस्पताल भर्ना गरिएको थियो। परीक्षणपछि डाक्टरहरूले उनलाई लेप्टोस्पाइरोसिस भएको पुष्टि गरे। यो रोग मुसाको पिसाबको सम्पर्कबाट फैलिन्छ। किशोरको अवस्था गम्भीर भएकाले उनलाई बाइपेपबाट भेन्टिलेटरमा र त्यसपछि एक्मो सपोर्टमा लैजानुपर्यो। 11 दिनको लामो संघर्षपछि उनी स्वस्थ भएर घर फर्कन सफल भए।
तर सबैले निजी अस्पतालमा उपचार गराउन सक्दैनन्। यसैलाई ध्यानमा राख्दै सरकारले राज्यभर स्क्रब टाइफस र लेप्टोस्पाइरोसिसका बिरामीहरूको लागि परीक्षण केन्द्रहरूको संख्या बढाउने निर्णय गरेको छ। हाल, डायमण्ड हार्बर मेडिकल कलेजलाई नोडल सेन्टर बनाइएको छ, तर बढ्दो केसहरूको संख्यालाई ध्यानमा राख्दै कोलकाताको एसएसकेएम अस्पताल, कोलकाता स्कूल अफ ट्रपिकल मेडिसिन र उत्तरबङ मेडिकल कलेज अस्पताललाई पनि नोडल सेन्टर बनाइँदैछ। यी नयाँ केन्द्रहरूको जिम्मेवारी सम्बन्धित अस्पतालका उपप्राचार्यहरूलाई हस्तान्तरण गरिनेछ।
यी नयाँ नोडल केन्द्रहरूमा परीक्षण सुविधाहरू सुदृढ गर्न सरकारले चालू आर्थिक वर्षमा 5.5 लाख रूपियाँ विनियोजन गरेको छ। यसमध्ये 1.9 लाख रूपियाँ एसएसकेएम अस्पताल र कोलकाता स्कूल अफ ट्रपिकल मेडिसिनलाई दिइएको छ भने उत्तरबंग मेडिकल कलेजलाई 1.5 लाख रूपियॉं दिइएको छ।
डायमण्ड हार्बर मेडिकल कलेज अस्पतालका सहायक प्राध्यापक डा. देवदत्त हलदरका अनुसार, राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसीडीसी) कार्यक्रम अन्तर्गत 2022 मा सेन्टिनल सेन्टरहरू स्थापना गरिएको थियो। यी दुवै रोगहरू अत्यधिक संक्रामक छन् र जनावरबाट मानिसमा सर्छन्। कुनै पनि उमेरको व्यक्ति संक्रमित हुन सक्छ, त्यसैले आत्तिनुको सट्टा सतर्क रहनु महत्त्वपूर्ण छ। लक्षण देखिने बित्तिकै तुरुन्तै अस्पताल गएर रगत परीक्षण गराउनुपर्ने उनले बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल