पाकिम, 21 अप्रेल (हि.स.)। पाकिमको कार्थोक आर्चेरी फिल्डमा चलिरहेको 23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चेरी गोल्ड कपको आज चौथो क्वार्टर फाइनल खेल सम्पन्न भएको छ। ताथाङचेन गोल्ड र मेनामला ब्लूबीच भएको खेलमा ताथाङचेन गोल्डले प्रतिद्वनदी दललाई 60–07 ले पराजित गऱ्यो। विजयी दलका छेडुप छिरिङ भोटियालाई म्यान अफ् द म्याच चयन गरियो।
आज वन तथा पर्यावरण विभागका सल्लाहकार तेन्जिङ नर्बु लाम्ठा मुख्य अतिथि तथा मुख्यमन्त्रीका सल्लाहकार विष्णु कुमार खतिवडा, जिल्ला अध्यक्ष लाडेन ल्हमू भोटिया विशिष्ट अतिथि थिए।
यसैगरी, डार्ट कम्पिटीशनमा छाम्पो 7 ले याङ्गला बोइज नर्थलाई पराजित गऱ्यो। यसरी नै आरकेए बोइजले याक्तेन बोइजलाई पराजित गरी अर्को चरणमा प्रवेश गरेको छ।
उक्त टुर्नामेन्टहरूको आयोजना पाकिम जिल्ला आर्चेरी एसोसिएशनले पाकिम जिल्ला प्रशासनिक केन्द्रको संयुक्त तत्वावधानमा गरिरहेको छ।
हिन्दुस्थान समाचार / बिशाल