सोनादा, 21 अप्रेल (हि.स.)। सोनादा पुलिस आउट पोस्ट अनि सोनादा ट्राफिक पुलिस गार्डको आयोजनामा दुई दिवसीय पुलिस पब्लिक फ्रेण्डशीप भेटरन फुटबल टुर्नामेन्ट सम्पन्न भएको छ। भालुटार खेल मैदानमा सम्पन्न भएको उक्त टुर्नामेन्टमा 10 वटा टिमले भाग लिएको थियो।
यस फुटबल टुर्नामेन्टको फाइनल खेल भूतपूर्व सैनिक सोनादा र सोनादा भेटरन रेडमाझ भएको थियो। फाइनल खेल भूतपूर्व सैनिक सोनादाले 3-1 को अन्तरले जित्न सफल बन्यो। सोनादा भूतपूर्व सैनिकका खेलाडी रोशन सुब्बा म्यान अफ् द म्याच चयन भएका छन्।
यस अवसरमा मुख्य अतिथिको रुपमा प्रेमेस भोटिया उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरुमा जोरबंगलो थानाका ओसी निरज राई, सोनादा पुलिस आउट पोस्टका प्रभारी योगेस ठकुरी, सोनादा ट्राफिक गार्डका प्रभारी सबिन दर्नाल, एएसआई आनन्द प्रधान उपस्थित रहेका थिए।
फुटबल टुर्नामेन्टको विजेता र उपविजेता टिमलाई ट्रफीसहित नगदराशि पनि प्रदान गरियो। यस फुटबल टुर्नामेन्टमा ट्रक एसोसिएशन, होली क्रस विद्यार्थी चालक एसोसिएशन, बालासन रिङ्गटन, मार्गरेट्स होप ट्याक्सी सेन्डीकेट्स र सोनादा रंगबुल ट्याक्सी एसोसिएशनले सहभागिता जनाएका थिए।
फुटबल टुर्नामेन्टको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सोनादा पुलिस आउट पोस्टका प्रभारी योगेस ठकुरी, सोनादा ट्राफिक गार्डका प्रभारी सबिन दर्नालले भने, वर्तमान प्रविधिको समयमा शारीरिक र मानसिक स्वास्थ्यमाथि पनि ध्यान केन्द्रित गर्नु आवश्यक छ भन्ने सन्देश दिन यस टुर्नामेन्टको आयोजना गरियो।
विगतमा मोबाइल र कम्प्युटर जस्ता संसाधन नहुँदा पनि युवाहरू शिक्षित थिए, प्रखर विद्वान, अङ्ग्रेजी, विज्ञान, हिसाबका उच्चकोटीका ज्ञाताहरू बने। नेपाली साहित्यमा त झन् वरिष्ठ व्यक्तित्वहरू जन्माए। संस्कार संस्कृतिको सम्मान गर्न जाने। कारण त्यसताका उनीहरू घरभित्र बसेर दिन बिताएनन्। घरमा पाहुना आउँदासमेत थाहै नहुने गरेर मोबाइलमा अल्झेनन्। उनीहरू शारीरिक र मानसिकरूपमा स्वस्थ थिए।
यसैले आजका युवाहरू पनि चाहिए जति मात्र मोबाइल र कम्प्युटरमा भुलेर बाँकी समय आफ्नो शरीर र मानसिक तनावदेखि मुक्त हुन यस्ता खेलहरू खेल्न अति आवश्यक छ। यही सन्देश युवाहरूमा दिन यस फुटबल खेल प्रतियोगिताको आयोजना गरिएको उनीहरूले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक