सोनादा, 21 अप्रेल (हि.स.)। सोनादा प्राथमिक स्वास्थ्य केन्द्रलाई आज जीटीएको डेपुटी चेयरम्यान एवं स्वास्थ्य विभागको प्रभारी राजेस चौहानको पहलमा 10 वटा बेड, फ्रिज, वासिङ म्यासिन आदि प्रदान गरिएको छ।
गत केही दिनअघि मात्र फिफ्टिन फाइनेसमार्फत् अप्पर सोनादा ग्राम पञ्चायतको पहलमा ल्याइएको ल्याबको पनि डेपुटी चेयरम्यान राजेस चौहानको बाहुलीबाट उद्घाटन गरिएको थियो। यसावधि उनले सोनादा प्राथमिक स्वास्थ्य केन्द्रको निरीक्षण भ्रमण पनि गरेका थिए। उनले सोनादा प्राथमिक स्वास्थ्य केन्द्रलाई मरमत्ति गरेर अपग्रेड गर्ने कार्य गरिने र मरमत्तिको कार्य चॉंडै शुरु बताएका थिए।
डेपुटी चेयरम्यान राजेस चौहानको सहयोगमा सोनादा प्राथमिक स्वास्थ्य केन्द्रमा 10 वटा बेड, फ्रिज, वासिङ म्यासिन प्रदान गरिएकोमा अप्पर सोनादा ग्राम पञ्चायतका पञ्चायत प्रधान दावा तामाङ र उप प्रधान हेमन्त गुरुङले धन्यवाद दिएका छन्। पञ्चायत प्रधान दावा तामाङले जीटीएबाट सोनादा प्राथमिक स्वास्थ्य केन्द्रलाई 10 वटा बेड, फ्रिज, वासिङ म्यासिन प्रदान गरिएकोमा सम्पूर्ण सोनादावासीको तर्फबाट आभार प्रकट गरे। उनले सोनादा वरिपरि चियाबारी क्षेत्रले घेरेको ठाउँ रहेको र अप्पर सोनादा ग्राम पञ्चायत मात्र नभएर सोनादा क्षेत्र वरिपरि पाँचवटा ग्राम पञ्चायतहरु रहेकाले सोनादा प्राथमिक स्वास्थ्य केन्द्रलाई 10 वटा बेडबाट 50 वटा बेड भएको केन्द्र बनाउन पहल गरिने बताए।
उनले जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले आफ्नो पदभार ग्रहण गरेपछि सोनादा प्राथमिक स्वास्थ्य केन्द्र राम्रो भएर गएको तथा भविष्यमा पनि सोनादा प्राथमिक स्वास्थ्य केन्द्रको अझ उन्नति भएर जाने कुरामा आशावादी रहेको बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक