गान्तोक, 21 अप्रेल (हि.स.)। राज्य कार्मिक विभाग (डीओपी) ले आज राजधानीको चिन्तन भवनमा स्टेट सिविल सर्विसेस् डे पालन गऱ्यो। कार्यक्रममा राज्य कृषि एवं बागवानी तथा पशुपालन एवं पशु चिकित्सा सेवा विभागका मन्त्री पुरण कुमार गुरुङले प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
मुख्य अतिथि मन्त्री गुरुङले आफ्नो सम्बोधनमा सिविस सर्विसेस् डेको शुभकामना व्यक्त गर्दै जन कल्याण र विकासमा प्रशासकहरूको योगदानको सराहना गरे। उनले 1947 मा नागरिक सेवा अधिकारीहरूको पहिलो समूहलाई सरदार वल्लभभाई पटेलले गरेको सम्बोधनको सम्झना गर्दै वल्लभभाईले राजनीतिक तटस्थता, अनुशासन र कानूनप्रति प्रतिबद्धतामा जोड दिएको बताए। सरदार पटेलले नागरिक सेवाका अधिकारीहरूलाई इमानदारी र निष्ठाका साथ राष्ट्रको सेवा गर्न आग्रह गरेको उनले जानकारी गराए।
मन्त्री गुरुङले अधिकारीहरूलाई निष्पक्ष रहन, कानून पालना गर्न र सटीकताका साथ काम गर्न सल्लाह दिए। उनले सिक्किममा लागूपदार्थको दुरुपयोगप्रति चिन्ता व्यक्त गर्दै जागरूकता, अनुगमन र सहयोगको लागि समन्वयित विभागीय प्रयासमाथि जोड दिए। उनले स्पष्ट नीति र कार्यक्रमहरू मार्फत सिक्किमको भविष्यलाई सुदृढ पार्ने नेतृत्व र दृष्टिकोणको लागि मुख्यमन्त्री प्रेमसिंह तामाङलाई धन्यवाद दिए।
मुख्य सचिव आर. तेलाङले आफ्नो सम्बोधनमा कुशल र जवाफदेही शासन सुनिश्चित गर्न नागरिक सेवा अधिकारीहरूको जिम्मेवारीमाथि प्रकाश पारे। अधिकारीहरूले विशेष गरी डिजिटल युगमा जनताको विकसित अपेक्षाहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्छ र सेवा वितरण बढाउन प्रविधि अपनाउनुपर्छ भनी आह्वान पनि गरे।
उनले अधिकारीहरूलाई व्यक्तिगत पहिचानभन्दा सार्वजनिक कल्याणलाई प्राथमिकता दिन तथा समाधानमुखी र सक्रिय रहन सुझाउ दिए। दिगो सुधारहरू कार्यान्वयन गर्न चुनौतीहरूको मूल कारणहरूलाई सम्बोधन गर्नुपर्ने महत्त्वमा जोड दिए।
कार्यक्रमलाई विभिन्न विभागका प्रमुखहरू, जिल्लापालहरू तथा अन्य अधिकारीहरूले पनि सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल