सिक्किमबाट हुने कैलाश मनसरोवर यात्राको तयारी तीव्र, आवश्यक पूर्वाधार निर्माण अन्तिम चरणमा
सिक्किमबाट हुने कैलाश मनसरोवर यात्राको तयारी तीव्र, आवश्यक पूर्वाधार निर्माण अन्तिम चरणमा


गान्तोक, 17 मई (हि.स.)। सिक्किम भएर तिब्बतको मानसरोवरसम्म हुने तिर्थ यात्रा पाँच वर्षपछि आगामी जुन महिनादेखि पुनः सञ्चालनमा आउने भएपछि सिक्किम सरकारको पर्यटन विभागले आवश्यक पूर्वाधारको निर्माणमा तीव्रता ल्याएको छ। मुख्य रूपमा भारत-चीन सीमामा रहेको नाथुला भञ्जाङबाट मोटरमा गरिने तीर्थयात्राको पहिलो जत्था जुन महिनामा आउने बताइएको छ। त्यसलाई ध्यानमा राखेर सिक्किम सरकारले 16 माइल र हाङ्गु पोखरी परिसरमा तिर्थयात्रीहरूको बसोबासो तथा पर्यानुकूलन (एक्लामाटाइजेशन) को निम्ति भव्य यात्री निवास निर्माण गरेर अन्तिम चरणमा पुऱ्याएको छ।

यस अघि पाँच वर्ष पहिले क्योङनस्ला, सेरेथाङमा पनि पर्यानुकूलनको निम्ति यात्री निवासहरू बनाइएको छ। अहिले नयाँ ठाउँमा बनिएका घरहरू अझ धेरै सुविधायुक्त रहेको बताइएको छ। निर्माण कार्यमा रहेका कर्मीहरूका प्रभारी सुनिल कुमारले 16 माइलको पर्यानुकूलन केन्द्र निर्माण लगभग पुरा भइसकेको अनि एक हप्ताभित्रमा सरकारलाई हस्तान्तरण गरिने बताए। यसमा पचासभन्दा धेरै मानिस एकपल्टमा बस्न सक्ने सुविधा रहेको बताए। जसमा आवास, भान्साघर, क्लिनिक र अन्य सुविधा रहेको बताए। अर्कोतिर हाङ्गु पोखरी परिसरको निर्माण कार्य भने केही समयमा पुरा हुने बताए।

सिक्किमका राज्यसभा सांसद डीटी लेप्चाले पछिल्लो संसद सत्रमा जोरदार रूपमा कैलाश मानसरोवर यात्रा र नाथुला सीमा व्यापारको पैरवी गर्दै आएका छन्। जसले गर्दा सरकारको पहल र केन्द्र सरकारको निर्णयमा थप मद्दत पुगेको स्पष्ट रहेको छ। उनले पटक राज्यसभामा सिक्किमबाट कैलाश मानसरोवर यात्रा खोलिनु पर्ने माग गर्दै आएका थिए।

भारत सरकार र सिक्किम सरकारको महत्वपूर्ण प्रयासमा शुरु गरिएको चर्चित कैलाश मानसरोवर यात्राले सिक्किमको महत्व बढेको तथा मुख्यमन्त्री प्रेमसिंह तामाङले कुशलतापूर्वक यसको निम्ति गरेको पहलको राम्रो परिणाम रहेको 29 काबी लुङचोक निर्वाचन क्षेत्रका विधायक थिन्ले छिरिङ भोटियाले बताए। सिक्किमबाट अन्य ठाउँबाट भन्दा सजिलो र शान्तिपूर्ण रूपमा मोटरबाटोबाट यात्रा गर्न सकिने भएको कारण यसको चर्चा रहेको तथा यो यात्रा पुनः शुरुआत भएको कारण सिक्किमको पर्यटनको प्रचारमा महत्वपूर्ण योगदान पुग्ने तथा स्थानीयहरूले पनि यसबाट अप्रत्यक्ष फाइदा प्राप्त गर्ने बताए।

विधायक भोटियाले उत्तराखण्डको लिपुलेक भएर गरिने कठिन यात्राको तुलनामा सिक्किमबाट शान्तिपूर्ण अनि सुगम यात्रा हुने भएकोले यहाँको महत्व धेरै रहेको बताए। यसैगरि उनले चाँडै नाथुला सीमा व्यापार पनि खोलिएको खण्डमा असल हुने उनले बताए।

अर्कोतिर स्थानीय निवासी तथा पूर्व पञ्चायत अध्यक्ष आइके रसाइलीले राज्य सरकार र केन्द्र सरकारको महत्वपूर्ण निर्णयले सबैलाई खुशी तुल्याएको बताए। उनले यसको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री प्रेमसिंह तामाङलाई आभार प्रकट गर्दै यसबाट सिक्किमले फाइदा पाउने तथा सिक्किमको पर्यटनको दिशामा थप चर्चा र प्रचार हुने अवसर हुने बताए। क्योङनस्ला जिपीयु र नाथाङ जिपीयुमा पर्ने यो यात्राले विशेष लाभ हुने बताए।

सिक्किमबाट तीर्थ यात्रीहरूको कुल 10 समूहले यात्रा गर्नेछन्। एक पटकमा 50 जना तीर्थ यात्रीले भाग लिनेछन्। यसको लागि अनलाइन फारम भर्ने अन्तिम मिति 13 मई थियो। यसका लागि एक यात्रुले 2 लाख 83 हजार रूपियॉं तिर्नुपर्नेछ र यात्रा दिल्लीबाट शुरु हुनेछ र फर्कन 21 दिन लाग्नेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande