गोर्खा राष्ट्रिय नारी संगठन रंगबुल गोर्खा बस्ती शाखाको प्रतिनिधिहरूलाई लिएर सांगठनिक सभा सम्पन्न
गोर्खा राष्ट्रिय नारी संगठन रंगबुल गोर्खा बस्ती शाखाको प्रतिनिधिहरूलाई लिएर सांगठनिक सभा सम्पन्न


सोनादा, 31 मई (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा रंगबुल धोतरिया रंगबुक समष्टि अन्तर्गत रहेको गोर्खा राष्ट्रिय नारी संगठन रंगबुल गोर्खा बस्ती शाखाको प्रतिनिधिहरूलाई लिएर सांगठनिक सभा सम्पन्न गरिएको छ। सभामा शाखाको हालसम्मको गतिविधि, सांगठनिक समीक्षा तथा विस्तार विषयमा गहिरो छलफल गरिएको थियो।

यसका साथै वर्तमान समयको राजनीतिक परिवेश, विशेषतः पहाडको जनभावना, गोर्खा पहिचानको लडाइँ, नारी सहभागिता र समावेशी नेतृत्वको सन्दर्भमा व्यापक चर्चा परिचर्चा गरियो। प्रतिनिधिहरूले शाखालाई अझ प्रभावकारी र जनसंगठित बनाउने अठोट व्यक्त गर्दै आगामी दिनहरूमा बृहत् सभा आयोजना गर्ने निर्णय लिएका छन्।

यो निर्णय केवल सांगठनिक पुनर्गठनको निम्ति मात्र होइन, सामाजिक चेतना अभिवृद्धि र महिला सशक्तिकरणतर्फ अघि बढ्ने संकेत पनि हो भनी बताइएको छ। नारी संगठनलाई एक गतिशील र वैचारिक धार वहन गर्ने संगठनको रूपमा प्रस्तुत गर्न सबै प्रतिनिधिहरू एकमत देखिएको पनि बताइएको छ।

सभा केवल गोर्खा राष्ट्रिय नारी संगठनको सांगठनिक गतिविधि विषयमा मात्र नभएर नयाँ सोच, सहभागिता र नेतृत्व विकासको दिशातर्फ उठाइएको सशक्त कदमको रूपमा पनि हेरिएको छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले लामो समयदेखि समानता, पहिचान र अधिकारको पक्षमा आवाज उठाउँदै आइरहेको दाबी गरिएको छ। यसै सन्दर्भमा, नारी संगठनको यो सक्रियता संगठनभित्रको लोकतान्त्रिक अभ्यास र समावेशी अभियानको प्रतीक हो भनी प्रेस विज्ञप्तिमा जनाइएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande