सीएपी सिक्किमको छैटौं केन्द्रिय कार्यकारिणी परिषदको बैठक सम्पन्न
सीएपी सिक्किमको छैटौं केन्द्रिय कार्यकारिणी परिषदको बैठक सम्पन्न


गान्तोक, 31 मई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको छैटौं केन्द्रिय कार्यकारिणी परिषद बैठक 30 र 31 मई, 2025 का दिन रानीपुलस्थित पार्टी मुख्यालयमा सम्पन्न भयो। पार्टी अध्यक्ष गणेश के. राईको अध्यक्षतामा बसेको यस महत्वपूर्ण बैठकमा पार्टीका विभिन्न फ्रन्टल काउन्सिलहरू, संगठनात्मक परिषद्हरू, जिल्ला परिषदहरूका अध्यक्षहरू, प्रभारीहरू तथा केन्द्रिय कार्यकारिणी सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो।

यस दुईदिने गहन बैठकले संगठनात्मक सुदृढीकरण, जनताको आशा–अपेक्षा र आगामी राजनीतिक रणनीतिहरूका विषयमा विस्तृत छलफल र अन्तरक्रिया गर्दै पार्टीको मूल राजनीतिक दर्शनलाई झन स्पष्ट र प्रभावकारी बनाएको प्रेस विज्ञप्तिमा बताइएको छ।

बैठकमा सहभागी सबै परिषद् तथा काउन्सिलहरूले विगतका गतिविधिहरूको समिक्षा गर्दै आगामी योजनाका लागि व्यावहारिक तथा सशक्त कार्यदिशा प्रस्तुत गरेका थिए। राज्यका सबै जिल्लाबाट आएका प्रतिनिधिहरूले स्थानीय जनसमस्या, संगठन विस्तार तथा जनसरोकारका मुद्दाहरूलाई केन्द्रमा राख्दै अत्यन्त उपयोगी सुझावहरू राखेका थिए, जसले पार्टीको भविष्यको कार्ययोजना निर्माणमा सघाउ पुर्‍याउने बताइएको छ।

समापन सत्रमा पार्टी अध्यक्ष राईले प्रस्तुत भएका सम्पूर्ण विषयवस्तु, प्रश्न तथा सुझाउहरूलाई गम्भीर रूपमा सम्बोधन गर्दै स्पष्ट दिशानिर्देश दिए। उनको मन्तव्यले प्रतिनिधिहरूमा ऊर्जा, मार्गदर्शन र लक्ष्यप्रति दृढ आत्मविश्वास प्रदान गरेको महसुस गरिएको उल्लेख छ।

राईले संगठनको समावेशी विस्तार, जनताको निरन्तर सहभागिता र पार्टीको दीर्घकालीन नीति–दर्शनलाई आत्मसात गर्दै आगामी दिनहरूमा पार्टीले खेल्नुपर्ने ऐतिहासिक भूमिकाका लागि सबै सदस्यहरूलाई सजग र जिम्मेवार रहन प्रेरित गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande