मंगन, 17 मई (हि.स.)। मंगन जिल्लाको शहरी विकास विभागको निर्देश बमोजिम मंगन नगर पञ्चायतले सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती समारोह हर्षोल्लासपूर्वक मनायो। मंगन नगर पञ्चायतकी अध्यक्ष नोर्कित लेप्चाको अध्यक्षतामा बसेको सभामा मंगन नगर परिषदका उपाध्यक्ष उगेन पाल्जोर काजी विशिष्ट अतिथिकोरूपमा उपस्थित रहेका थिए।
सभामा विशेष गरेर मनसुन मौसमलाई ध्यानमा राख्दै विभिन्न विषयमाथि छलफल गरियो, जसमा ढल निकास, सडक सम्पर्क, पार्किङ सुविधा र ट्राफिक व्यवस्थापन लगायत अन्य विषयमाथि छलफल गरियो। लोवर मंगन बजार र पुरानो मंगन बजारको जोखिम न्यूनीकरण र माथिल्लो मंगन बजार अन्तर्गत जेटीडब्ल्यू कार्यहरूमाथि छलफल गरियो। आजको यस सभामा लिएको निर्णय राज्य सरकारसमक्ष बुझाउने भएको छ।
सभामा एसबीएमका नोडल अधिकारी नोर्देन जी. तामाङले केन्द्र र राज्य सरकारद्वारा मंगन नगर पञ्चायतलाई प्रदान गरिएका विभिन्न योजनाहरूबारे रिपोर्ट प्रस्तुत गरे। यसैगरी, स्वय सहायता समूहद्वारा विशेष कार्यक्रमको पनि आयोजना गरिएको थियो। यसरी नै शहरी स्थानीय निकायस्तरमा अन्तर निम्न माध्यमिक विद्यालयलाई लिएर हाजिरी जवाफ प्रतियोगिता पनि आयोजन गरियो।
हिन्दुस्थान समाचार / प्रदीप