देशभरका विमानस्थलहरूमा सुरक्षा कडा, विमान चढ्नुअघि सबै यात्रीहरूको थप जाँच गरिने
देशभरका विमानस्थलहरूमा सुरक्षा कडा, विमान चढ्नुअघि सबै यात्रीहरूको थप जाँच गरिने


नयाँ दिल्ली, 08 मई (हि.स.)। देशको वर्तमान सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नागर विमानन सुरक्षा ब्यूरो (बीसीएएस) ले भारतका सबै विमानस्थल र एयरलाइन्सहरूलाई सुरक्षा प्रणाली बलियो बनाउन निर्देशन जारी गरेको छ।

नयाँ दिशानिर्देशहरू अनुसार, अब प्रत्येक यात्रीले उडानमा चढ्नुअघि सेकेन्डरी ल्याडर पोइन्ट चेक (एसएलपीसी) बाट गुज्रनु अनिवार्य हुनेछ। यस प्रक्रियाले कुनै पनि सम्भावित खतरालाई रोक्न बोर्डिङ गेटमा अन्तिम जाँच सुनिश्चित गर्दछ।

साथै, विमानस्थलका टर्मिनल भवनहरूमा आगन्तुकहरूको प्रवेश पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। नागरिक उड्डयन मन्त्रालयका स्रोतहरूले भने, परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै कुनै पनि अप्रत्याशित गतिविधिमा तुरुन्त कारबाही गर्न सकियोस् भनेर एयर मार्शलहरू पनि तैनाथ गरिनेछन्।

यो आदेशपछि देशभरका विमानस्थलहरूमा सुरक्षा एजेन्सीहरूलाई उच्च सतर्कतामा राखिएको छ। यात्रीहरूलाई यात्राअघि अतिरिक्त समय लिएर विमानस्थल पुग्न र आवश्यक कागजातहरू साथमा राख्न अपील गरिएको छ।

यसैबीच, नागर विमानन सुरक्षा ब्यूरोको निर्देशनमा एयर इन्डिया, आकासा एयर लगायत धेरै एयरलाइन्सहरूले यात्रीहरूका लागि नयाँ एड्भाइजरी जारी गरेका छन्।

एयर इन्डियाले आफ्नो आधिकारिक ट्वीटमा भनेको छ, नागर विमानन सुरक्षा ब्यूरोले देशभरका विमानस्थलहरूमा सुरक्षा उपायहरू कडा पार्ने आदेशलाई ध्यानमा राख्दै सबै यात्रीहरूलाई सहज चेक-इन र बोर्डिङ प्रक्रिया सुनिश्चित गर्न आफ्नो निर्धारित उडानभन्दा कम्तिमा 3 घण्टा अगाडि विमानस्थलमा पुग्न अनुरोध गरिएको छ। उडानभन्दा 75 मिनेट अगाडि चेक-इन काउन्टरहरू बन्द गरिनेछ।

यसैगरी, आकासा एयर, इन्डिगो र स्पाइसजेटले पनि ट्राभल एड्भाइजरी जारी गर्दै यात्रीहरूलाई सुरक्षा जाँच र अन्य औपचारिकताहरूको लागि अतिरिक्त समय दिन अनुरोध गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande