नयाँ दिल्ली, 09 मई (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघले देशको वर्तमान परिस्थितिमा सेना र प्रशासनलाई सहयोग गरेर आफ्नो देशभक्ति देखाउन देशवासीहरूलाई अपील गरेको छ। संघका सरसंघचालक डा. मोहन भागवत र सरकार्यवाह दत्तात्रेय होसबालेले एक संयुक्त विज्ञप्ति जारी गर्दै सेना र प्रशासनलाई हर सम्भव सहयोगको लागि तयार रहन तथा राष्ट्रिय एकता र सुरक्षा कायम राख्न सबै प्रयासहरूलाई बल प्रदान गर्न आह्वान गरेका छन्।
संघद्वारा जारी विज्ञप्तिमा ‘अपरेशन सिन्दूर’ को लागि सरकार र सेनालाई बधाई दिॅंदै भनिएको छ, पहलगाममा भएको कायरतापूर्ण आतङ्कवादी घटनापछि भारतीय सरकार र सशस्त्र बलको नेतृत्वलाई पाकिस्तान-प्रायोजित आतङ्ककारीहरू र उनीहरूको समर्थन प्रणाली विरुद्ध गरिएको निर्णायक कारबाही 'अपरेशन सिन्दूर' को लागि हार्दिक अभिनन्दन छ। हिन्दू यात्रीहरूको नृशंस हत्याकाण्ड पीडित परिवार र सम्पूर्ण राष्ट्रलाई न्याय प्रदान गर्ने यो कार्यले सम्पूर्ण राष्ट्रको आत्मसम्मान र साहस बढाएको छ।
संघ अनुसार, पाकिस्तानमा आतङ्ककारीहरू, उनीहरूको पूर्वाधार र समर्थन प्रणाली विरुद्ध भइरहेको सैन्य कारबाही देशको सुरक्षाको लागि आवश्यक र अपरिहार्य कदम हो। राष्ट्रिय संकटको यस घडीमा सम्पूर्ण देश तन, मन र धनले सरकार र सशस्त्र बलको साथमा उभिएको छ। भारतीय सीमामा रहेका धार्मिक स्थल र नागरिक बस्तीमा पाकिस्तानी सेनाले गरिरहेको आक्रमणको निन्दा गर्दै संघले यी आक्रमणबाट पीडित भएकाहरूका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ, यस चुनौतीपूर्ण अवसरमा राष्ट्रिय स्वयंसेवक संघले सबै देशवासीहरूलाई सरकार र प्रशासनले दिएको सबै सूचनाहरूको पूर्ण पालना सुनिश्चित गर्न अपील गर्दछ। यसका साथै, यस अवसरमा हामीले आफ्नो नागरिक कर्तव्य निर्वाह गर्दै सामाजिक एकता र सद्भावलाई भंग गर्ने राष्ट्रविरोधी शक्तिहरूको कुनै पनि षड्यन्त्र सफल हुन नदिने कुरामा पनि सतर्क रहनुपर्छ। सबै देशवासीहरूलाई जहाँ र जस्तो आवश्यक परे पनि सेना र नागरिक प्रशासनलाई हर सम्भव सहयोग प्रदान गर्न र राष्ट्रिय एकता र सुरक्षा कायम राख्न सबै प्रयासहरूलाई सुदृढ पार्न तयार रहेर आफ्नो देशभक्ति प्रदर्शन गर्न अनुरोध गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी