गान्तोक, 21 जून (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको मंगन जिल्ला कार्यकारी परिषदको एक महत्वपूर्ण बैठक शुक्रवार उत्तर सिक्किमको माङशीलामा आयोजन भयो। मंगन जिल्ला कार्यकारी परिषदका अध्यक्ष जोर्बू छिरिङ लेप्चाको अध्यक्षतामा सम्पन्न बैठकमा सीएपी सिक्किमका वरिष्ठ नेतृत्वहरूको उपस्थिति रहेको थियो। उक्त जानकारी सीएपीले आज एक प्रेस विज्ञप्तिमा दिएको छ।
पार्टीको मंगन महिला परिषदकी अध्यक्ष सोङमित लेप्चाले स्वास्थ्य, सडक पूर्वाधार र टिस्टा नदी जस्ता महत्वपूर्ण मुद्दाहरूमाथि पार्टीको अटल अडानका कारण उत्तर जिल्लामा पार्टीप्रति जन समर्थन बढ्ने क्रम जारी रहेको बताइन्। उनले सरकारको निष्क्रियताका कारण उत्तर सिक्किमका मानिसहरूले वर्तमानमा व्यापक समस्याहरू झेल्नु परिरहेको आरोप पनि लगाइन्।
पार्टी उपाध्यक्ष भूषण अधिकारीले तृणमूल स्तरमा पार्टीको सुदृढिकरणमाथि जोड दिॅंदै पार्टी उत्तर सिक्किमका मानिसहरूको पक्षमा उभिएको दाबी गरे। उनले राज्यवासीहरूका चिन्ताहरूलाई पार्टी अध्यक्षले आफ्नो साप्ताहिक सन्डे लाइभ कार्यक्रममाथि उठाउने कार्य गरिरहेको जानकारी गराए। उनले विवादित कञ्चनजङ्घा पर्वत आरोहणलाई लिएर पार्टीले रक्षा मन्त्रालयमा ज्ञापन बुझाएको र यस विषयमाथि विस्तारपूर्वक चर्चा गर्न रक्षामन्त्रीसॅंग भेट गर्ने प्रयास पनि चलिरहेको अवगत गराए।
सभाध्यक्ष लेप्चाले आफ्नो सम्बोधनमा जिल्लामा पार्टीको सुदृढिकरण र मानिसहरूलाई संलग्न गर्न यस्ता बैठकहरूको आवश्यकतामाथि जोड दिए। उनले जिल्लाको तीनवटै निर्वाचन क्षेत्रका जनतालाई 2024 को आम चुनाउमा समर्थनको निम्ति आभार प्रकट गरे। उनले उत्तर सिक्किम, विशेषगरि लाचेन, लाचुङ, चुङथाङ र जङ्गूमा सडकको सोचनीय अवस्था, स्वास्थ्य प्रणाली लगायत पुनर्वास जस्ता विषयहरूमाथि सरकारको ध्यान आकर्षित गराएका थिए।
हिन्दुस्थान समाचार / बिशाल