खरसाङ, 21 जून (हि.स.)। तीनधारेदेखि केही पर रहेको नयाँ कमानस्थित ग्राम सुधार समितिको आयोजनामा सम्बर्द्धना कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रम नयाँ कमान ग्राम कल्याण समितिका सभापति मिलन प्रधानको अध्यक्षतामा सम्पन्न भयो।
बिजय तामाङले सञ्चालन गरेको कार्यक्रममा दिल्लीबाट आएका क्यारिङ ह्याण्डका संस्थापक शिशिर राईलाई नयाँ कमान ग्राम कल्याण समितिको तर्फबाट सम्बर्द्धना जनाइयो। उनले विभिन्न बिमारीहरुलाई दिएको समर्थन र सहयोगको लागि नयाँ कमान ग्राम कल्याण समितिको तर्फबाट सम्बर्द्धना जनाइएको हो। राईले नयाँ कमान निवासी नानी राधालाई पनि सहयोग गरेका थिए।
यस अवसरमा शिशिर राईलाई स्थानीयहरुले खदार्पणसहित सम्बर्द्धना पत्र प्रदान गरेर सम्मानित गरे। उक्त सम्बर्द्धना पत्र दिपमाला छेत्रीले पठन गरेकी थिइन्। शिशिर राईले आफ्नो सम्बोधनमा सबैलाई विभिन्न बिमारीहरुबाट सचेत रहने आह्वान् गरे। उनले भविष्यमा पनि बिमारीहरुलाई सहयोग गर्ने वचन दिएका छन्। उनले आफ्नो संस्था क्यारिङ ह्याण्डको सदस्यता लिन चाहनेहरुलाई स्वागत पनि जनाए।
हिन्दुस्थान समाचार / हनोक