सोनादा, 21 जून (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको अभियान्त्रिकी विभाग दार्जिलिङद्वारा नवनिर्मित रंगबुल ग्राम पञ्चायत भवनको उद्घाटन गरिएको छ। उक्त नवनिर्मित पञ्चायत भवनको उद्घाटन प्रमुख अतिथिको रुपमा उपस्थित जीटीएको डेपुटी चेयरम्यान एवं क्षेत्रीय सभासद राजेस चौहानको बाहुलीबाट गरियो।
यस उद्घाटन कार्यक्रममा रंगबुल ग्राम पञ्चायतकी प्रधान योजना सुब्बा प्रधानको विशेष उपस्थितिमा आयोजना गरियो। कार्यक्रममा जोरबंगला सुखेपोखरी खण्ड पञ्चायत समितिका सभापति सोना डोमा डुक्पा, कर्माध्यक्ष जीवन प्रधान, धोत्रे कलेज भेल्ली ग्राम पञ्चायतका प्रधान अनिता तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए।
कार्यक्रमका प्रमुख अतिथि चौहानले आफ्नो सम्बोधनमा लामो समयपछि जीटीएले पञ्चायतिराज फर्काएर ल्याएको र पञ्चायत व्यवस्था शुरु भएपछि विभिन्न विकासका कार्यहरू धमाधम भइरहेको बताए। उनले विभिन्न स्थानहरुमा रहेका पञ्चायत भवनहरुको पनि मरमत्ति र नवीकरणको कार्य भइरहेको जानकारी गराए।
यसै क्रममा रंगबुल ग्राम पञ्चायतको नयाँ भवन नवीकरण भएर आज उद्घाटन गरिएको उनले बताए। उनले आफ्नो सम्बोधनमा रंगबुल ग्राम पञ्चायतले प्रत्येक महिनामा एकपल्ट यस क्षेत्रमा रहेका विभिन्न संघ संस्थाहरु र सामाजका प्रतिनिधिहरुलाई लिएर सभा गर्नुपर्ने सुझाउ राखेका छन्। उनले समाजका प्रतिनिधिहरुलाई लिएर मासिक रुपमा सभा आयोजना गरिएको खण्डमा प्रत्येक गाउँ ठाउँका मानिसहरुको समस्याहरु बुझ्न सजिलो हुने र जनसाधारणका समस्याहरु समाधान गर्न सकिने बताए।
चौहानले यसरी सभा गर्दा जनताले के कता र कस्ता समस्याहरु भोग्न परिरहेको छ, ती सबै कुराहरु बुझ्न सक्ने साथै जनताका विभिन्न समस्याहरु समाधान गर्न सजिलो हुने सुझाउ दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक