पाल्जोर स्टेडियममा पालन गरियो अन्तरराष्ट्रिय ओलम्पिक दिवस
पाल्जोर स्टेडियममा पालन गरियो अन्तरराष्ट्रिय ओलम्पिक दिवस


- वर्तमान सरकारले खेलकूद र शिक्षालाई प्राथमिकता दिएको मन्त्री दाहालको मन्तव्य

गान्तोक, 23 जून (हि.स.)। सिक्किम ओलम्पिक एसोसिएशनको पहलमा आज राजधानीस्थित पाल्जोर स्टेडियम परिसरमा अन्तरराष्ट्रिय ओलम्पिक दिवस पालन गरियो। यस कार्यक्रममा सडक तथा पूल विभाग मन्त्री नर बहादुर दाहाल प्रमुख अतिथिका रुपमा उपस्थित रहेका। यसैगरी, मुख्यमन्त्रीका राजनीतिक सचिव तथा सिक्किम ब्याडमिन्टन एसोसिएशनका अध्यक्ष जेकब खालिङ विशिष्ट अतिथिका थिए।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि मन्त्री दाहालले सर्वप्रथम अन्तरराष्ट्रिय ओलम्पिक दिवसको सबैलाई शुभकामना दिए। उनले आफू पनि खेलप्रेमी व्यक्ति भएको हुनाले कार्यक्रममा अंशग्रहण गर्न पाएकोमा हर्ष प्रकट गरे।वर्तमान सरकारले सबैभन्दा अधिक शिक्षा र खेलकुदलाई महत्त्व दिएर कार्य गरिरहेको जानकारी गराउँदै आज कार्यक्रममा उपस्थित विभिन्न खेलकुद संगठनका अध्यक्षहरुलाई उनले सरकारसँग तालमेल राखेर कार्य गर्ने आग्रह गरे।

तालमेलको कमीले गर्दा नै धेरै प्रतिभावान खेलाडीहरुले प्राप्त गरेका उपलब्धिहरु प्रकाशमा आउन नसकेको साथै खेल विषयमा नै उच्च शिक्षा हासिल गरेका युवाहरुले अवसर प्राप्त गर्न नसकिरहेको गुनासो प्रकट गर्दै सरकारसँग कहिलेकाहीँ समन्वय सभाहरु आयोजना गरेर यी विषयहरुलाई अघि ल्याउन सके वर्तमान सरकार तथा मुख्यमन्त्री सदैव सहयोग गर्न तत्पर रहेको उनले जानकारी दिए।

राज्यमा खेलको क्षेत्रमा पनि विकास गर्नु हो भने पारस्पारिक सम्पर्कले ठूलो भूमिका खेल्ने बताउँदै वर्तमान राज्यपाल ओम प्रकाश माथुरको पहलमा अब चाँडै नै सिक्किममा नयाँ हाइवेको निर्माण हुन गइरहेको जानकारी दिँदै राज्यपालप्रति कृतज्ञता व्यक्त गरे। मुख्यमन्त्रीको पहलमा सिक्किममा ओलम्पिक भिलेज पनि निर्माण गरिने योजना भइरहेको बताउँदै यसले राज्यका खेलाडीहरुलाई अझ धेरै अवसर प्रदान गर्ने उनले बताए।

कार्यक्रममा सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्ष कुबेर भण्डारीले साथै उपाध्यक्ष सी जाङ्पोले पनि सम्बोधन गरेका थिए। यस अवसरमा राज्यपाल, मुख्यमन्त्री साथै खेलमन्त्रीद्वारा जारी गरिएका सन्देशहरुलाई पनि पठन गरिएको थियो।

विभिन्न खेलकुदका क्षेत्रमा पदक हासिल गरेका खेलाडीहरुलाई साथै प्रशिक्षकहरुलाई अतिथिहरुका बाहुलीद्वारा पारितोषिक प्रदान गरियो। पाल्जोर स्टेडियमको इन्डोर हलमा ताइक्वान्डो, पेन्साक सिलाट साथै ब्याडमिन्टन खेलहरुको प्रदर्शनीका साथ यही कार्यक्रमको अवसर पारेर रक्तदान शिविरको पनि आयोजना गरिएको थियो जसमा धेरैले स्वेच्छाले सहभागिता जनाए।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande