इच्छुक उद्यमीहरूलाई रु. 5 लाखसम्मको सहायता प्रदान गरिने
गान्तोक, 23 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्वमा वर्तमान एसकेएम सरकारले उद्यमी बन्न चाहने राज्यको युवा जनसङ्ख्यालाई सशक्त बनाउने उद्देश्यले मुख्यमन्त्री युवा उद्यमशीलता विकास योजना शुरू गरेको छ। सरकारको यो अर्को युवा केन्द्रित योजनाको रूपमा रहेको बताइएको छ।
यो योजना सूक्ष्म उद्यमी र बेरोजगार युवाहरूलाई प्रत्यक्ष वित्तीय सहयोग पुऱ्याउने र उनीहरूको उद्यम सफलतापूर्वक स्थापना गर्नको लागि सहजता प्रदान गर्ने उद्देश्यले लागू गरिएको हो। सरकारले गत 18 जुनको दिन एक अधिसूचना जारी गरी मुख्यमन्त्री युवा उद्यमशीलता विकास योजना शुरु गर्ने घोषणा गरेको छ। यस योजनाले प्रत्येक इच्छुक उद्यमीलाई आफ्नो इच्छा अनुसारका उत्पादहरू उत्पादन गर्न वा व्यावसायिक स्तरमा आफ्नो सेवा विस्तार गर्न र आफ्नो उद्यम शुरु गर्न 5 लाख रुपियाँ सम्मको सहायता प्रदान गर्नेछ।
मुख्यमन्त्री युवा उध्यमशीलता विकास योजनाको उद्देश्य स्टार्ट-अपहरू, अद्वितीय विचार भएका, तर स्रोतको अभावको सामना गरिरहेका खाँचोमा परेका उद्यमीहरूलाई सहयोग गर्नु, आफ्नो उद्यम स्थापना गर्न सक्ने सम्भावना भएका इच्छुक उद्यमीहरूलाई आर्थिक सहयोग प्रदान गर्नु, ग्रामीण/महिला उद्यमीहरूलाई कृषि तथा पशुपालनमा आधारित व्यवसायलाई प्राथमिकता दिँदै आफ्नो उद्यम स्थापना गर्न सशक्त र प्रोत्साहित गर्नु र शिक्षित बेरोजगार स्थानीय युवाहरूलाई प्रशस्त रोजगारीका अवसरहरू सिर्जना गर्नु रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल