- आर्थिकरूपमा कमजोर खेलाडीहरूलाई सरकारले सबै प्रकारको सहयोग प्रदान गर्नेछ: अध्यक्ष खालिङ
गान्तोक, 23 जून (हि.स.)। ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किम (बास) ले पहिलो सिक्किम अन्तरराज्य विद्यालय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। राजधानीस्थित पाल्जर स्टेडियममा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बासका अध्यक्ष एवम् मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले उक्त घोषणा गरेका हुन्।
आफ्नो सम्बोधनको क्रममा अध्यक्ष खालिङले प्रतिभावान ब्याडमिन्टन खेलाडीहरूलाई मञ्च दिनका साथै राष्ट्रिय र अन्तरराष्ट्रियस्तरको खेल आयोजना गर्ने एसोसिएशनले योजना तयार गरेको जानकारी गराए। उनले बताए अनुसार, उक्त प्रतियोगिता आगामी 12 र 13 जुलाईमा राज्यको छवटै जिल्लाहरूमा आयोजना गरिने। जिल्लास्तरीय प्रतियोगितामा विजेता अनि उपविजेता बन्ने विद्यालय टोलीले राज्यस्तरका प्रतियोगीहरूसँग भिड्ने छन्।
यो प्रतियोगितालाई दुईवटा वर्गमा विभाजन गरिएको छ, जसमा 17 वर्ष भन्दा मुनि र 19 वर्ष भन्दा मुनिका खेलाडहरूको निम्ति एकल वर्गमा खेल आयोजना हुनेछ। विजयीहरूलाई नगद राशि साथै अन्य पुरस्कारले पुरस्कृत गरिने छ। यस प्रतियोगितामा उत्कष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई अर्को वर्षदेखि शुरु हुने ब्याडमिन्टन अकादमीमा भर्नाको निम्ति पनि चयन गर्ने उनले जानकारी गराए।
अहिले राज्यमा पहिलो स्थानमा फुटबल खेल रहेको र दोस्रो स्थानमा ब्याडमिन्टन खेल रहेको छ, जहाँ युवाहरूको सहभागितामा अत्याधिक रहेको बताए। राज्यको प्रत्येक जिल्ला अनि महकुमामा ब्याडमिन्टन खेलको निम्ति पूर्वाधारहरूको निर्माण भइरहेको उनले थप जानकारी गराए। एसोसिएशनका मुख्य संरक्षक एवं मुख्यमन्त्री प्रेमसिंह तामाङले यो खेलमा आफ्नो भविष्य बनाउन चाहने युवाहरूलाई सकारात्मक सहयोगहरू प्रदान गर्दै आएको खालिङले अवगत गराए।
ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमको मुख्य उद्देश्य युवाहरूलाई यो खेलमा निपूण बनाउनु रहेको र उनीहरूलाई संलग्न गराएर विभिन्न प्रकारको कार्यक्रम आयोजना गर्दै आइरहेको उनको भनाइ रहेको थियो। आर्थिकरूपमा कमजोर भएका प्रतिभावान खेलाडीहरूलाई सबै प्रकारको सहयोग प्रदान गरिने घोषणा गर्दै खेलाडीहरूलाई संस्थासँग आबद्ध हुन आग्रह गरे।
एसोसिएशनका महासचिव सुकान्त दासले बासको वार्षिक क्यालेण्डर कार्यक्रमहरूबारे जानकारी गराए। प्रथम सिक्किम राज्य अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगितामा भाग लिन चाहने विद्यालयहरूले आगामी 1 जुलाईसम्म नामाङ्कन बुझाउनुपर्ने आग्रह गरेका छन्।
हिन्दुस्थान समाचार / प्रदीप