दिव्याङ्गजनको हितमा रूपरेखा तयार गर्ने उद्देश्यले राज्य सल्लाहकार समितिको बैठक सम्पन्न
दिव्याङ्गजनको हितमा रूपरेखा तयार गर्ने उद्देश्यले राज्य सल्लाहकार समितिको बैठक सम्पन्न


गान्तोक, 23 जून (हि.स.)। राज्यका दिव्याङ्गजनको कल्याणको निम्ति के कस्ता कामहरू गर्न सकिन्छ भन्ने विषयमा रूपरेखा तयार गर्नको निम्ति आज राजधानीस्थित चिन्तन भवनमा राज्य सल्लाहकार समितिको एक बैठक सम्बन्धित विभागका मन्त्री एवम् सल्लाहकार समितिका अध्यक्ष साम्डुप लेप्चाको अध्यक्षतमा सम्पन्न भयो।

सभालाई सम्बोधन गर्दै मन्त्री लेप्चाले आज सम्पन्न भएको सभा अतिनै महत्वपूर्ण साथै अनिवार्य रहेको बताए। उनले केही मानिसहरूले मात्र दिव्याङ्गजनको कल्याण कुरा गर्दै आइरहेका छन्, तर आज राज्य नै लागि परेर दिव्याङ्गजनको अधिकार र सुविधाबारे चर्चा गर्न सभा आयोजना गरिएको बताए।

उनले हाल राज्यमा दिव्याङ्गजनको निम्ति सरकार अधिनस्थ तीनवटा विद्यालय सञ्चालनमा रहेको छ, जसमा सिच्छे, स्यारी र जेएनएमआई नाम्ची रहेको जानकारी गराए। राज्यका दिव्याङ्गजनको कल्याणको लागि सबै विभागहरूले एक अर्कामा समन्वय राखेर काम गर्नुपर्ने साथै गैर सरकारी संस्था र व्यक्तिहरू पनि अघि आउनु पर्ने उनले आग्रह गरे।

उनले सबै जना मिलेर काम गरेको खण्डमा अवश्य पनि दिव्याङ्गजनले झेल्दै आएका समस्याहरूको समाधान गर्न सकिने सम्भावना व्यक्त गरे। उनीहरूको हक अधिकार प्रदान गर्न साथै न्याय दिलाउनको निम्ति शिक्षा विभाग र डीओपी विभागको भूमिका महत्वपूर्ण रहेको मन्त्री लेप्चाले बताए। उनीहरूको कल्याणको निम्ति टिम भएर काम गर्नुपर्ने उनले आह्वान पनि गरे।

यसै क्रममा सम्बन्धित विभागकी सचिव नोर्मित लेप्चाले बताए अनुसार, वर्ष 2021 मा गरिएको सर्वेक्षण अनुसार हाल राज्यमा 18 हजार 187 जना दिव्याङ्गजन रहेका छन्। विभागले उनीहरूलाई परिचय पत्र वितरण गर्दै आइरहेको छ भने सरकारी नौकरीमा पनि उनीहरूको निम्ति सिट आरक्षण गरिएको उनले अवगत गराइन्। यसका साथै उनीहरूलाई भत्ता पनि प्रदान गरेर आर्थिकरूपमा केही सहयोग पुऱ्याउने कार्य निरन्तर चलिरहेको उनले बताइन्।

आज सम्पन्न भएको सभामा विशेष गरेर दिव्याङ्गजनलाई कसरी र कुनरूपमा सहयोग पुऱ्याउन सकिन्छ भन्नेबारेमा छलफल गरियो। राज्य सरकार अधिनस्थ सञ्चालित सरकारी विद्यालयहरू उनीहरूको निम्ति अनुकूल नरहेको हुनाले यसबारेमा विभाग साथै सरकारले नयाँ पहल शुरू गर्ने उनले अवगत गराइन्।

आजको बैठकमा विधायक दिले नामग्याल बर्फुङपा, विधायक पामिन लेप्चा, छवटा जिल्लाका जिल्लापाल लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande