
गान्तोक, 09 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले राजधानीको मनन केन्द्रमा आज सरकार गठन दिवस, केन्द्रमा एनडीए सरकार र राज्यमा एसकेएम सरकारको अवसरमा आयोजित 'विकसित सिक्किमदेखि विकसित भारत @2047' कार्यशालामा बोल्दै यो कार्यक्रमले विकसित भारत 2047 को राष्ट्रिय भिजनको आधार तयार गरेको बताए। उनले यो ठूलो लक्ष्य प्राप्त गर्न विकसित सिक्किम निर्माण आवश्यक रहेको बताउॅंदै राज्यको विकास मार्गचित्र बनाउन हाल एक व्यापक दृष्टिकोण दस्तावेज तयार भइरहेको जानकारी दिए।
मुख्यमन्त्रीले कार्यशालामा भएका छलफलले यस दस्तावेजको रूपरेखालाई आकार दिन प्रमुख भूमिका खेल्ने बताए। यसका साथै, उनले विभागहरूबीचको सहकार्यको महत्त्वमाथि जोड दिॅंदै अधिकारीहरूलाई दुई दिने कार्यशाला इमानदारी र उद्देश्यका साथ सम्पन्न गर्न आग्रह गरे। यस कार्यशालाले एक व्यापक राज्यस्तरीय विकासको दिशा तय गर्नेछ भन्दै उनले एक भिजन दस्तावेज तयार भइरहेको पनि जानकारी गराए।
उनले सबै सहभागीहरूलाई कार्यशालामा पूर्ण रूपमा संलग्न बन्ने आह्वान गर्दै विभागीय प्रस्तुतीकरणहरूबाट संकेतहरू लिन र अभिसरणका क्षेत्रहरू पहिचान गर्न प्रोत्साहित गरे। उनले यो भेला ज्ञान आदानप्रदानको लागि मात्र नरहेर राज्यको विकासको मार्गलाई आकार दिन एक महत्त्वपूर्ण क्षण पनि रहेको अवगत गराए।
मुख्यमन्त्रीले यसअघि केन्द्रमा एनडीए सरकारको लगातार तेस्रो कार्यकालको पहिलो वर्ष पूरा भएकोमा प्रधानमन्त्रीलाई हार्दिक बधाई दिॅंदै यसले सेवा, सुशासन र विपन्न वर्गको कल्याणमा समर्पित कार्यकाललाई चिन्हित गर्दछ भनी बताए। उनले विश्वव्यापी शक्ति बन्ने दिशामा भारतको प्रगतिमा जोड दिॅंदै प्रधानमन्त्री मोदीको 'सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास' को समावेशी दृष्टिकोणमाथि प्रकाश पारे।
मुख्यमन्त्रीले राज्य सरकार गठन दिवसको अवसरमा राज्य सरकार र सिक्किमका जनतालाई बधाई दिए। उनले विकसित भारत निर्माणको वृहत् लक्ष्यको लागि सिक्किमको प्रगति महत्त्वपूर्ण छ भनी बताए। हालैको राज्य स्थापनाको स्वर्ण जयन्ती समारोहको उल्लेख गर्दै मुख्यमन्त्रीले प्रतिकूल मौसमका कारण बागडोग्राबाट जनतालाई भर्चुअल रूपमा सम्बोधन गर्ने प्रधानमन्त्रीको पहलको सराहना गरे। प्रधानमन्त्रीले अक्टोबर वा नोभेम्बरको पहिलो हप्ता सिक्किम भ्रमण गर्ने आश्वासन दिएको पनि उनले आफ्नो सम्बोधनमा जानकारी गराए।
हिन्दुस्थान समाचार / बिशाल