गान्तोक, 13 जुलाई (हि.स.)। अखिल किराँत राई संघ, सिक्किम केन्द्रिय कार्यकारिणी समितिको वार्षिक आम सभा तथा चुनाउ संस्थाका अध्यक्ष मोहन दुङमालीको अध्यक्षतामा लुम्से तादोङस्थीत संघको मुख्यालय राई खिममा सम्पन्न भयो।
वार्षिक आम सभालाई सम्बोधन गर्दै अध्यक्ष मोहन दुङमालीले आफ्नो अध्यक्ष कार्यकाल भरी हासिल गरेका केही उपलब्धिहरूबारे संक्षिप्त विवरण दिए। यसपछि उनले अहिलेसम्मको केन्द्रिय कार्यकारिणी समिति आज विघटन भएको घोषणा गरे, साथै आज नै नयाँ समितिको निम्ति निर्वाचनमा जाने पनि अवगत गराए।
केन्द्रिय कार्यकारिणी समितिको चुनाउको निम्ति गठित तीन सदस्यीय निर्वाचन समितिले चुनाउ प्रक्रियालाई अघि बढ़ाउँदै चुनाउ समिति अध्यक्ष मोहन दुङमाली, सदस्य सचिव टीएम राई र सदस्य अधिवक्ता प्रदिप राईले केन्द्रिय समितिका जम्मा 15 जना पदाधिकारीको निम्ति अध्यक्षदेखि क्रमशः कार्यकारिणी सदस्य निर्वाचन गर्ने विधीहरू सम्बन्धी स्पष्ट पारे।
चुनाउ प्रक्रियाका पर्यवेक्षकको रूपमा डा. एसके राई (पूर्व अध्यक्ष), टीबी राजालिम (भुपु अध्यक्ष, राज्य लोक सेवा आयोग) अनि विमलचन्द्र राई (पूर्व महकुमा अधिकारी) लाई नियुक्त गरिएको थियो।
केन्द्रिय समितिका पदाधिकारीहरू सर्वसम्मतिद्वारा भोइस भोट मार्फत चुनिए, जसमा अध्यक्ष डा. बिमल कुमार राई, नाम्ची, उपाध्यक्ष जीतप्रसाद राई, आसामलिङ्गजे, महासचिव सन्तोष कुमार राई, गान्तोक, प्रचार सचिव बिष्णु बहादुर राई उर्फ विष्णु चामलिङ, जील ब्लक, कोषाध्यक्ष जयकुमार राई, तादोङ पाँच माइल, मुल सचिव प्रभारी (पूर्व जिल्ला) कालुराम राई, सिच्छे, मुल सचिव प्रभारी (पश्चिम जिल्ला) दिवस रावाली राई, मुख्रुङ-देन्ताम र मुल सचिव प्रभारी (दक्षिण) सीबी राई (अवकाशप्राप्त सचिव) सामेल छन्।
यसैगरी, 6 जना कार्यकारी सदस्य चयन भए जसमा राम कुमार राई, रेशी बजार, सुरज राई, मंगलबारे, हेमा राई, नाम्ची, देवेन्द्र कुमार राई, नाम्ची, प्रतिमान राई, प्रितलाखा र अविशेख राई, सिच्छे सामेल छन्।
निर्वाचन प्रक्रिया विधिवत पूर्ण भएपश्चात नव अध्यक्ष डा. बिमल कुमार राईले सभालाई सम्बोधन गर्दै अकिरासं सिक्किमको नयाँ अध्यक्षको पदभार सर्वसम्मतिले सुम्पेकोमा आभार व्यक्त गरे। उनले आफूलाई प्राप्त यो अभिभारलाई यथासम्भव इमान्दारपूर्वक निर्वाह गर्ने वचन दिए साथै संस्थाको हितमा सबै नवनिर्वाचित पदाधिकारीहरूको सल्लाह लिँदै संघको संविधान अनुसार कार्य सम्पादन गर्दै लैजाने आश्वासन दिए।
सभामा केन्द्रिय मुल सचिव आरके वालिङले आफ्नो स्वागत सम्बोधनमा संस्थाको आय व्ययसहित वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सभामा पूर्व र नव समितिमाझ कागज पत्र, हर हिसाबको लेनदेन आगामी 30 जुलाई, 2025 का दिन हुने जानकारी सञ्जय दिल्पाली (अध्यक्ष सूचना प्राविधिक विभाग) ले दिएका छन्।
हिन्दुस्थान समाचार / बिशाल