गान्तोक, 13 जुलाई (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज राजधानीस्थित भानु उद्यानमा आयोजित 211औं भानु जयन्ती समारोहमा मुख्य अतिथिको रूपमा भाग लिए। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि थिए। कार्यक्रममा मन्त्रीगण, लोकसभा सांसद, विधायकगण, सिक्किम सरकारका अधिकारीगण, विद्यार्थीहरू आदि उपस्थित थिए।
राजभवन अनुसार, समारोहमा राज्यपाल माथुरले सर्वप्रथम पद्मश्री सम्मान प्राप्त साहित्यकार सानु लामालाई श्रद्धाञ्जलि अर्पित गरे। राज्यपालले भने, 'साहित्यकार सानु लामाको निधन सिक्किमेली नेपाली साहित्य र संस्कृतिको लागि अपूरणीय क्षति हो।' राज्यपालले आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गरेर श्रद्धा सुमन अर्पित गरे।
आफ्नो सम्बोधनमा राज्यपालले भने, 'भाषा केवल सम्प्रेषणको माध्यम होइन, यो हाम्रो सभ्यता, संस्कृतिको पहिचान हो। जब हामी मातृभाषाको सम्मान गर्छौं, हामी आफ्नो अतीतलाई गौरव र आफ्नो भविष्यलाई दिशा प्रदान गर्छौं।' उनले भानु जयन्ती केवल उत्सव होइन, भाषिक एकता र सांस्कृतिक विरासतको संवाहकको प्रतीक पनि रहेको बताए। उनले आदिकवि भानुभक्त आचार्यको योगदानलाई सांस्कृतिक पुनर्जागरणको संज्ञा दिए।
राज्यपालले सिक्किमको सामाजिक, सांस्कृतिक र आर्थिक उन्नतिमाथि प्रकाश पार्दै भने, 'भारतको 22औं राज्य बनेपछि सिक्किमले यी पॉंच दशकमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेका छन्।' उनले विविधतामा एकताको भावनालाई अझ सुदृढ बनाउन जनमानससॅंग संकल्प लिन आह्वान गरे।
राज्यपालले विभिन्न सरकारी कार्यालयहरूमा पारम्परिक परिधानलाई दिइएको प्रोत्साहनको सराहना गर्दै यसलाई हाम्रो सांस्कृतिक जरासॅंग सम्बन्धको प्रतीक बताए। उनले सबैसॅंग यस परम्परालाई अगाडि बढाउन अपील गरे। उनले नेपाली साहित्य परिषद, सिक्किमलाई यस आयोजनको सफलताको लागि बधाई दिए।
हिन्दुस्थान समाचार / बिशाल