दार्जिलिङ, 27 जुलाई (हि.स.)। भारतीय प्रजातान्त्रिक मोर्चाले जातिको सुरक्षाको लागी काम गर्छ, तर कसैको घर शून्य पार्दैन भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय संस्थापक अध्यक्ष एवं गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्।
उनले भने, 'आज मैले जाति र माटोको आन्दोलनमा १९८६ देखि २०१७ सम्म पटक पटक भएको आन्दोलनमा शहिद बनेका वीर-बिराङ्गनाहरुलाई सम्झना गर्दै महाकाल डाँडामा पुजा गरे। म यहाँ कसैलाई गाली पनि गर्दिन, दोषारोपण पनि गर्दिन। तर म यहि भन्छु, अब उसो भागोप्रमोले जातिको सुरक्षाको निम्ति काम गर्छ तर कसैको घर शून्य पार्दैन। कसैको सिन्दुर पुछिॅंदैन, कसैले बाबा गुमाउँदैन, आमा गुमाउँदैन, छोरा गुमाउँदैन। हामी निर्माण गर्ने राजनीतिमा बिश्वास गर्छौ। विधवंश बनाउने राजनितीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बिश्वास गर्दैन।'
अनित थापाले अघि भने, 'हामीले धेरै कुरा गुमायौ। गुमेका कुराहरूलाई मिलाउॅंदै मिलाउॅंदै जानुछ। हामी कसैलाई पनि छुट्याउँदैनौ, छुट्टाउने प्रवृत्तिलाई अपनाउॅंदैनौं। भूल गर्दा शायद हामी सबै थियौं होला, यसलाई भुल भन्न पनि मिल्दैन। जसले गुमाको छ, उसलाई मात्र थाहा छ। शहीद परिवारलाई मात्र थाहा छ, के गुमेको छु भनेर? हामीले वर्षमा एक पल्ट सम्मान गर्छौ तर यो सम्मानले त्यो गुमेको कुरा हामी पुरा गर्न पनि सक्दैनौ। गुमेको कुरा पूर्ण गर्न नचाहेको पनि होईन तर यो कसैले पुरा गर्न सक्दैन।'
उनले भने, 'अब पहाडमा जब सम्म भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा छ, हामी कदापि शहिद बनाउँदैनौ, कसैको कोख हामी शुन्य पार्दैनौ। हामी जातीको लागी संघर्ष गरिरहेका छौ। २०१७ देखी यो संघर्ष गरेका हौं, अहिले पनि संघर्षमा नै छौँ। यस संघर्षमा धेरै कुरा सहनु पर्छ। धैर्य हुनुपर्छ। यो ठाउँमा बसेर म उत्तेजित भयो भने जातिले दुःख पाउँछ। मेलै धैर्य गरेर काम गर्नुपर्छ।'
हिन्दुस्थान समाचार / हनोक