खरसाङ, 27 जुलाई (हि.स.)। खरसाङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आयोजनामा गोर्खाल्याण्ड आन्दोलनका शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै शहीद दिवस समारोह सम्पन्न गरियो। खरसाङको इगल क्य्राकमा अवस्थित शहीद वेदीमा बिहान शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरियो।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रिय समितिको महासचिव अमर लामा उपस्थित रहेका थिए। उनले शहीद वेदीमा गोर्खाल्याण्ड आन्दोलनमा जाति र माटोको लागि बलिदान दिने वीर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरे। उनीसितै भागोप्रमो केन्द्रिय समिति, खरसाङ महकुमा समिति, खरसाङ टाउन कमिटी, 28 नम्बर खरसाङ चिमनी देवराली समष्टि र 29 नम्बर खरसाङ गिद्ध पहाड समष्टिका पदाधिकारीहरुले शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरे।
कार्यक्रमको शुरुवात विभिन्न धर्मका गुरुहरुद्वारा पूजा अर्चना साथै प्रार्थनाद्वारा गरियो। यसैगरी, भूतपूर्व सैनिकहरुले बिकुल बजाएर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै सलामी दिए। कार्यक्रममा शहीदका परिवारहरुलाई खरसाङ कलेजको एनसीसीका विद्यार्थीहरुले गार्ड अफ् अनर दिएका थिए।
पछि, खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा सम्मान कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रममा गोर्खाल्याण्डको लागि शहीद बनेका शहीदका परिवारहरुलाई सम्मान जनाइयो।
कार्यक्रममा प्रमुख अतिथि भागोप्रमो केन्द्रिय महासचिव अमर लामाले वक्तव्य राखेका थिए। शहीदहरुको विषयमा वरिष्ठ साहित्यकार एवं गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा आशा मुखिया लामाले वक्तव्य राखिन्। यस अवसरमा सूचना अनि सांस्कृतिक विभागका कलाकारहरुले गीत तथा अन्यहरूले कविता, गीत, नृत्य प्रस्तुत गरेका थिए।
गत वर्ष झैं यसपाली पनि युवा शक्तिको आयोजनामा खरसाङमा रक्तदान शिविरको आयोजना गरियो।
हिन्दुस्थान समाचार / हनोक