गोरामुमो सोनादा टाउन कमिटीद्वारा शहीद दिवस पालन
गोरामुमो सोनादा टाउन कमिटीद्वारा शहीद दिवस पालन


सोनादा, 27 जुलाई (हि.स.)। गोरामुमो सोनादा टाउन कमिटीद्वारा सोनादा बजारमा शहीद टाँशी भोटियाको शहीद वेदीमा दिप प्रज्वलन र खदा माला लगाएर गोरामुमोले शहीद दिवस पालन गरेको‌ छ। खरसाङ ब्राञ्च कमिटीको प्रचार प्रसार सचिव भुपेन्द्र गुरुङ, सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्री लगायत गोरानास, गोरायुमो अनि कार्यकर्ताहरुको उपस्थितिमा 1986 देखि 2017 सम्म जाति र माटोको उन्मुक्तिको निम्ति शहीद बनेका वीर योद्धाहरुलाई श्रद्धाञ्जली अर्पण गरियो।

पत्रकारहरुलाई सम्बोधन गर्दै भुपेन गुरुङले भने, गोर्खाल्याण्ड आन्दोलनमा शहीद बनेका वीर योद्धाहरुको सपना केवल गोर्खाल्याण्ड हो। 1986 सालको आन्दोलनमा गोर्खाल्याण्ड प्राप्तिको निम्ति गोर्खाहरुले आन्दोलन गरेका थिए, तर सोझै गोर्खाल्याण्ड नहुने बुझेरनै गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङले आन्दोलनलाई स्थगित गर्दै दागोपापमा सम्झौता गरेका थिए।

उनले भने, छैटौं अनुसूची मार्फत गोर्खाल्याण्डसम्म पुग्ने लक्ष्यलाई 2007 मा दार्जिलिङमा जन्मेको राजनीतिक दलले गोर्खाहरुको सपना चकनाचुर बनाइदियो। छैटौं अनुसूचीको विरोध गरेर त्यो भन्दा ठूलो संवैधानिक व्यवस्था ल्याउनु पर्ने थियो, तर ल्याउनु सकेन। 18-20 वर्षको अन्तरालमा हामीले सबै गुमायौँ। हाम्रो युवा पीढीहरुको समय नष्ट भयो। आज हामी लथालिङ्ग भएका छौं।

उनले भने, पहाडमा अहिले पाँच डेसिमल जमीनको कुरा चलिरहेको छ। यसको सुरक्षाको निम्ति यदि तत्काल गोर्खाल्याण्ड दिनु सक्दैन भने वर्तमान परिस्थितिमा छैटौं अनुसूची उपयुक्त छ। वर्तमान समय पहाडमा सबैले छैटौं अनुसूचीको विषयमा बोलिरहेका छन्। यसकारण हामी केन्द्रमा रहेको भाजपा सरकारलाई पनि पहाडमा छैटौं अनुसूची लागू गर्न अपील गर्दछौ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande